बुल्गेरियाका पूर्वराष्ट्रपति रादेनको दललाई संसदमा बहुमत प्राप्त

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ७
|
561 views

ललितपुर - रूससँग सम्बन्ध नवीकरण गर्न आह्वान गर्ने र युरोपेली सङ्घका आलोचक बुल्गेरियाका पूर्वराष्ट्रपति रुमेन राडेभको दलले संसदीय चुनावमा पूर्ण बहुमत प्राप्त गरेको छ ।

झण्डै ९८ प्रतिशत मत गणनासँगै सोमबार सार्वजनिक मतपरिणामले रादेनको दललाई बहुमत आउने स्पष्ट भइसकेको छ भने यससँगै देशको आधा दशकको राजनीतिक अनिश्चितताको अन्त्य हुनसक्ने सम्भावना देखिएको छ ।

युरोपेली सङ्घको सबैभन्दा गरिब सदस्य बुल्गेरियाले सन् २०२१ देखि आठ पटक निर्वाचनको अनुभव गरेको छ । बुल्गेरियामा भएको भ्रष्टाचार विरोधी प्रदर्शनको बलमा लामो समयदेखि सत्तामा रहनुभएका युरोपेली समर्थक नेता बोयको बोरिसोभको कन्जरभेटिभ प्रशासनलाई अपदस्थ गरेको थियो ।

निर्वाचन परिणाम पूर्णरूपमा घोषणा भइनसकेको भएपनि क्रेमलिनले राडेभको दललाई मिलेको सफलताका लागि राडेभको प्रशंसा गरेको छ।

“स्पष्ट रूपमा हामी राडेभका मस्कोसँगको घनिष्ठ सम्बन्ध र केही अन्य युरोपेली नेताहरूले वार्ताको माध्यमबाट मुद्दाहरू समाधान गर्ने प्रतिबद्धताको बारेमा आएका भनाइको समर्थन गर्छौँ,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले रादेनको दलको पक्षमा बहुमत मतपरिणाम देखिएपछि भन्नुभएको छ, “बुल्गेरिया युरोपेली परिवारको एक गौरवशाली सदस्य हो र यसले हाम्रा साझा चुनौतीहरूको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।”

नौ वर्ष राष्ट्रपतिको रूपमा काम गरेपछि यस वर्षको सुरुमा राजीनामा दिएका ६२ वर्षीय राडेभले आइतबारको मतदानमा भ्रष्टाचारविरुद्ध लड्ने प्रतिज्ञामा भाग लिनुभएको थियो । मतदाताहरूको एक विस्तृत जनलहरलाई एक साथ ल्याएको यो सन् २०२१ पछि सबैभन्दा बढी मतदाता सहभागिता भएको निर्वाचन हो ।

सोमबार ९८.३ प्रतिशत मत गणना हुँदासम्म राडेभको प्रोग्रेसिभ बुल्गेरिया समूहले आइतबार सम्पन्न मतदानमा ४४.७ प्रतिशत मत प्राप्त गरेको छ । मतदानबाट उहाँको दललाई २४० सिट भएको संसदमा १३० सिट प्राप्त गर्ने दिशामा पुर्याएको छ ।

सन् १९९७ मा मध्य–दक्षिणपन्थी, युरोपेली समर्थक समूहले जितेपछि बुल्गेरियामा एकल गठनको लागि यो पहिलो पूर्ण संसदीय बहुमतको प्रतीक हो।

निर्वाचन आयोगको घोषित नतिजाअनुसार बोरिसोभको जीइआरबी पार्टी १३.४ प्रतिशतमा झरेको छ भने उसले उदारवादी पिपी–डिबी गठबन्धनसँग प्रतिस्पर्धा गरिरहेको छ । पिपी–डिबी गठबन्धनले १२.७ प्रतिशत मत प्राप्त गरेको छ।

अति दक्षिणपन्थी भाजराज्दाने पार्टी र अल्पसङ्ख्यक टर्की र रोमा समुदायको दल एमआरएफले पनि केही सिट जित्ने निश्चित भएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube