पत्रकार महासङ्घ गण्डकीद्वारा मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ८
|
357 views

ललितपुर - नेपाल पत्रकार महासङ्घ, गण्डकी प्रदेश समितिले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने सङ्घ सरकाको निर्णय फिर्ताका लागि आवश्यक समन्वय र दबाब सिर्जना गर्न माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आज ज्ञापनपत्र बुझाएको छ ।

प्रदेश समितिका अध्यक्ष रमेश पौडेल, महासचिव जमुना वर्षा शर्मासहित गण्डकीका ११ वटै जिल्लाका महासङ्घका अध्यक्षहरूद्वारा संयुक्त रूपमा हस्ताक्षरित ज्ञापनपत्रमा सङ्घ सरकारको उक्त निर्णयले संविधानप्रदत्त समान हक र खुला प्रतिस्पर्धाको सिद्धान्तलाई निषेध गरेको उल्लेख छ । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयले निजी सञ्चारमाध्यमको अस्तित्व सङ्कटमा पर्ने महासङ्घको ठहर छ ।

ज्ञापनपत्रमा सङ्घ सरकारको उक्त निर्णयले प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा समेत हस्तक्षेप भएको उल्लेख गर्दै उक्त निर्णयलाई गण्डकी प्रदेशमा कार्यान्वयन नगर्न र सञ्चारमाध्यमको हितमा प्रदेश सरकार आफ्नै नीतिमा स्पष्ट हुन आग्रह गरिएको छ । साथै गण्डकी प्रदेश सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापनलाई तत्काल सञ्चालन गरी सूचीकृत भएका सबै सञ्चारमाध्यमहरूलाई समानुपातिक आधारमा वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

महासङ्घका प्रदेश अध्यक्ष पौडेलसहितको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले सरकारी सञ्चारमाध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णयका विषयमा प्रधानमन्त्रीसँगको भेटमा पनि आफूले कुरा उठाएको बताउनुभयो । उक्त निर्णय सच्चिने विश्वास व्यक्त गर्दै उहाँले राज्यले समान ढङ्गले सबै सञ्चारमाध्यमलाई स्रोतसाधन उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले उपलब्ध गराउने लोककल्याणकारी विज्ञापन समयमा वितरण गर्नाका साथै पत्रकारको क्षमता विकास तथा सञ्चारमाध्यमको सबलीकरणमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube