अवामी लिगले बार एसोसिएसनको पनि चुनाव लड्न नपाउने बङ्गलादेश

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १४
|
408 views

ललितपुर - बङ्गलादेशको सर्वोच्च अदालत बार एसोसिएसनले मे १३ देखि १४ सम्म हुने निर्वाचनमा अवामी लिग समर्थक वकिललाई चुनाव लड्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पार्टीमाथि प्रतिबन्ध लगाइएको भन्दै यो निर्णय लिइएको हो ।

बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का सदस्यहरूले आगामी वार्षिक चुनावमा अवामी लिग समर्थक वकिलहरूलाई चुनाव लड्न प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । निर्वाचन मे १३ र १४ मा हुने तय भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार ढाकामा भएको सङ्घको विशेष साधारण सभामा यो निर्णय गरिएको हो ।

बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी) समर्थक वकिल एससिबिएका वरिष्ठ उपाध्यक्ष हुमायूँ कबिर मन्जुले अध्यक्षता गरेको करिब ३०० वकिलहरू सहभागी बैठकले अवामी लीग समर्थक समूहलाई निर्वाचनमा भाग लिनबाट प्रतिबन्ध लगाएको हो । सहभागी सदस्यमध्ये अधिकांश बीएनपी र जमात–ए–इस्लामी समर्थक समूहका रहेका थिए।

एससीबीएका सचिव ब्यारिस्टर मोहम्मद महफुजुर रहमान मिलोनले भन्नुभयो, ‘आतङ्कवादविरोधी ऐन, २००९ अन्तर्गत पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाइएकोले करिब १०० सदस्यले नेतृत्वसँग प्रतिवन्धका लागि माग गरेका थिए । बङ्गलादेशमा हसिनाको पार्टी अवामी लिगलाई यसअघि नै गत आम चुनावमा प्रतिस्पर्धा गर्नबाट प्रतिबन्ध लगाइको थियो ।

उहाँले भन्नुभयो, ‘सर्वसाधारणको रायका आधारमा अवामी लिग समर्थित समलिता इङ्गिबी समन्वय परिषद् र बङ्गबन्धु अवामी इङ्गिबी परिषद्का वकिल वा यी सङ्गठनका पदाधिकारीले चुनाव लड्न नपाउने निर्णय भएको छ । मिलोनले त्यस्ता कानुन व्यवसायीले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिन सक्ने स्पष्ट पारे ।

यो निर्वाचन एससीबीएका अध्यक्ष र सचिवजस्ता महत्वपूर्ण पदसहित १४ कार्यकारी पदका लागि हुनेछ । निर्वाचित पदाधिकारीको कार्यकाल एक वर्षको हुनेछ ।

–चासो व्यक्त–

यसैबीच, फ्रान्सस्थित मानवअधिकार सङ्गठन जस्टिस मेकर्स बङ््गलादेश इन फ्रान्स (जेएमबिएफ) ले हालैका दिनहरूमा बङ्गलादेश बार एसोसिएसनको चुनावमा कथित अनियमितता र राजनीतिक विचारधाराका आधारमा अवामी लिग समर्थक वकिलहरूको मनोनयन रद्द गरिएको भन्दै यसको निन्दा गरेको छ।

सङ्गठनले त्यस्ता वकिलहरूलाई मुन्सीगञ्ज, मयमनसिंह, ठाकुरगाउँ, पञ्चगढ, खुलना, नरिल र सुनामगञ्जका विभिन्न जिल्लाहरूमा प्रहरी हस्तक्षेपको माध्यमबाट चुनाव प्रक्रियाबाट टाढा राखिएको आरोप लगाएको छ ।

यस महिनाको सुरुमा, अवामी लिगले पार्टीलाई प्रभावकारी रूपमा प्रतिबन्ध लगाइएको संसदबाट पारित एक विधेयकको कडा आलोचना गरेको थियो । आवामी लिगले यसलाई लोकतान्त्रिक मूल्यहरूमाथिको प्रत्यक्ष आक्रमण र लज्जास्पद कदमको रूपमा वर्णन गरेको थियो।

 पात्रो/राशिफल  रेडियो YouTube