सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान : राष्ट्रसङ्घ

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १५
|
357 views

ललितपुर - सन् २०३० सम्ममा अफगानिस्तानले ठूलो संख्यामा महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउने चेतावनी संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले दिएको छ । महिलामाथि लगाइएका शिक्षा र रोजगारीसम्बन्धी प्रतिबन्धका कारण यो अवस्था सिर्जना हुने युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

युनिसेफका अनुसार अफगानिस्तान अहिले सार्वजनिक सेवामा महिलाको गम्भीर अभावको संकटमा छ। यदि हालको नीति यथावत् रह्यो भने सन् २०३० सम्म देशले करिब २० हजार महिला शिक्षक र करिब ५ हजार ४ सय स्वास्थ्यकर्मी गुमाउने अनुमान गरिएको छ ।

      सन् २०२१ सेप्टेम्बरपछि अफगान सरकारद्वारा लागू गरिएको नीतिअनुसार केटीहरूलाई माध्यमिक तहभन्दा माथिको शिक्षा लिन प्रतिबन्ध लगाइएको छ। यस्तै, महिलाहरूलाई विश्वविद्यालयमा अध्ययन गर्नसमेत रोक लगाइएको छ। यस कारण हालसम्म १० लाखभन्दा बढी किशोरीहरू शिक्षा अधिकारबाट वञ्चित भएको युनिसेफले जनाएको छ ।

      युनिसेफले चेतावनी दिएको छ कि यदि यो प्रतिबन्ध सन् २०३० सम्म जारी रह्यो भने थप करिब २० लाखभन्दा बढी बालिका आधारभूत शिक्षाबाट समेत वञ्चित हुनेछन् ।

      प्रतिवेदनले अफगान सरकारलाई तत्काल केटीहरूको माध्यमिक शिक्षामा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको छ । साथै अन्तर्राष्ट्रिय समुदायलाई पनि अफगान बालिकाहरूको शिक्षाको मौलिक अधिकार सुनिश्चित गर्न सहयोग गर्न आह्वान गरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube