
ललितपुर - सरकारले राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई पदमुक्त गर्ने प्रावधानसहित अध्यादेश सिफारिस गरेपछि त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिने तयारी गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अध्यादेश सिफारिस भएसँगै त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले पद त्याग गर्ने तयारी गरेका हुन् । स्रोतका अनुसार बिहीबार बिहान बसेको पदाधिकारी बैठकपछि उनीहरू ‘मार्गप्रशस्त’ गर्ने निष्कर्षमा पुगेका छन् ।
एक अधिकारीका अनुसार, “नयाँ सरकारलाई काम गर्न सहज बनाउन राजीनामा दिन लागिएको हो।” उनीहरूले विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।
उपकुलपति अर्याल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका थिए भने शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका बेला नियुक्त भएका थिए। त्रिविका पदाधिकारीहरूको कार्यकाल सामान्यतया चार वर्षको हुने व्यवस्था छ ।
दुई तिहाइ नजिक बहुमतसहित सरकारमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुदेखि नै राजनीतिक नियुक्ति लिएकाहरूलाई हटाउने संकेत दिएको थियो । तर सरकार अध्यादेशमार्फतै यस्तो निर्णय कार्यान्वयनतर्फ अघि बढेपछि पदाधिकारीहरूले राजीनामा रोजेको बुझिएको छ ।
यसैबीच, सिफारिस गरिएको अध्यादेशबारे राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका छन् ।

बिजनेस पाटी
















