
ललितपुर - जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब कार्यालयमा आउनुपर्ने बाध्यता हटेको छ । कार्यालयले हुलाक सेवामार्फत नागरिकको घरदैलोमा राहदानी उपलब्ध गराउने भएको छ ।
सङ्घीय सरकारको शासकीय सुधारको १०० कार्यसूचीको बुँदा नं २७ मा उल्लेख भएअनुरुप राहदानी हुलाक सेवामार्फत नागरिकको घरदैलोमा उपलब्ध गराउने लागिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार हुलाक सेवामार्फत घरदैलोमा सेवा पुर्याउनका लागि कार्यालयले जिल्ला हुलाक कार्यालयसँग सम्झौता गरेको छ ।
जिल्लाका सातै पालिकामा रहेका हुलाक कार्यालयमार्फत घरघरमा राहदानी पुर्याउने व्यवस्था गरिएको हो । प्रजिअ अर्यालका अनुसार आजदेखि राहदानीको फोटो खिच्न आएका सेवाग्राहीलाई घरमा बुझ्ने की कार्यालयमा आएर बुझ्ने भन्ने विषयको फारम भराइने छ । उहाँले भन्नुभयो, ‘फारम भर्दा घरमा नै बुझ्ने भन्ने सेवाग्राहीले रु ५५ तिर्नुपर्ने हुन्छ । खाममा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बरसहित सो रकम तिरेपछि कार्यालयमा आएको राहदानी सम्बन्धित व्यक्तिको घरमा पुर्याउने छ ।’
राहदानी बनेर जिल्लामा आइसकेका तर लिन नआएकाहरूको हकमा हुलाक कार्यालयले सम्पर्क गरेर घरमानै लिने की यहाँ आउने सोध्ने प्रजिअ अर्यालले बताउनुभयो । यस्ता राहदानी अहिले एक हजार २११ वटा रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

बिजनेस पाटी













