
ललितपुर - प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यकाका नदी किनार तथा सरकारी जग्गामा रहेका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा कुनै पनि नागरिक घरबारविहीन नहुने स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकार नागरिकको आवासको हक सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । हाल चालिएका कदमहरू विस्थापनका लागि नभई सुरक्षित र सम्मानजनक आवास सुनिश्चित गर्ने उद्देश्यले अघि बढाइएको उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले नदीकिनारका जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूको दीर्घकालीन समाधान खोज्ने प्रक्रिया अघि बढाइएको उल्लेख गरे। साथै, सरकारी जग्गा अतिक्रमण हटाउने र वास्तविक भूमिहीनलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताए ।
बस्ती व्यवस्थापनका क्रममा आउने कानुनी अड्चन समाधान गर्न सरकारले भूमिसम्बन्धी ऐन २०२१ का केही बाधक प्रावधान अध्यादेशमार्फत हटाएको जानकारी पनि उनले दिएका छन् ।
यससँगै भूमिहीनहरूको पहिचानका लागि डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा वैज्ञानिक अभिलेख तयार गर्ने प्रक्रिया सुरु गरिएको छ । यसले पारदर्शी र दिगो समाधानमा सहयोग पुग्ने सरकारको विश्वास छ ।
प्रधानमन्त्री शाहले बस्ती व्यवस्थापनको विषयमा भ्रम र त्रास फैलाउने प्रयास भइरहेकोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै नागरिकलाई भ्रममा नपर्न आग्रह गरेका छन् ।
जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने र अन्य भूमिहीनहरूको हकमा सम्बन्धित आयोगको सिफारिसका आधारमा निर्णय लिइने उनले बताएका छन् ।
सरकारले आवासको हक सुनिश्चित गर्ने उद्देश्यले सबै कदम अघि बढाइरहेको भन्दै उनले यसलाई सकारात्मक रूपमा लिन सबैसँग आग्रह गरेका छन् ।

बिजनेस पाटी














