
ललितपुर - सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त ऋण र अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले भारतसँग जीटूजी (सरकार-सरकार) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
त्यसैगरी, सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय भएको छ, जसमा संसद् भवन परिसरमा प्रवेश लगायतका विषयहरू समेटिएका छन् ।
बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

बिजनेस पाटी
















