ललितपुर - राष्ट्रपति रामचन्द्र पौडेल संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने तयारीमा पुगेका छन् । यसअघि पुनर्विचारका लागि फिर्ता पठाइएको अध्यादेशलाई सरकारले पुनः स्वीकृतिका लागि सिफारिस गरेपछि राष्ट्रपति जारी गर्ने निर्णयतर्फ अघि बढेको स्रोतले जनाएको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अध्यादेशमा कुनै परिमार्जन नगरी जस्ताको तस्तै पुनः पठाइएको हो । दुई दिनअघि राष्ट्रपति पौडेलले गणपूरक संख्या र सिफारिस प्रक्रिया सम्बन्धी प्रावधानमा असहमति जनाउँदै अध्यादेश फिर्ता पठाएका थिए । विशेषगरी ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले मात्र निर्णय गर्न सक्ने व्यवस्था बहुमतको सिद्धान्तसँग मेल नखाने उनको अडान थियो ।
सरकारले भने संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन बैठक तथा सिफारिस कार्यविधिमा सुधार आवश्यक रहेको भन्दै अध्यादेश अघि बढाएको हो । अब पुनः सिफारिस भएको उक्त अध्यादेश राष्ट्रपति कार्यालयबाट जारी हुने तयारीमा रहेको बताइएको छ ।

बिजनेस पाटी














