गौशाला धर्मशाला जग्गा विवादः उच्च अदालत पाटनले पनि कोषकै पक्षमा फैसला सदर

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २२
|
408 views

ललितपुर - पशुपति क्षेत्रको गौशाला धर्मशालासम्बन्धी बहुचर्चित जग्गा विवादमा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको छ । यससँगै लामो समयदेखि मारवाडी सेवा समितिको नियन्त्रणमा रहेको उक्त जग्गा पुनः पशुपति क्षेत्र विकास कोषकै स्वामित्वमा फर्किएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको इजलासले जिल्ला अदालत काठमाडौंको निर्णयलाई कायम राख्दै धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने ठहर गरेको हो। यसअघि जिल्ला अदालतले पनि उक्त जग्गामा समितिको दाबी अस्वीकार गरेको थियो ।

    करिब २५ वर्षदेखि समितिले प्रयोग गर्दै आएको साविक पशुपति पञ्चायत वडा नं. २ अन्तर्गतका कित्ता नम्बर ८३ र ८५ मा पर्ने झण्डै नौ रोपनी जग्गा अब कोषको पूर्ण स्वामित्वमा आएको छ। अदालतको फैसलासँगै समितिले उक्त स्थान खाली गर्नुपर्ने भएको छ ।

    समितिले जिल्ला अदालतको निर्णयविरुद्ध २०८१ मंसिर २१ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । तर, उच्च अदालतले पनि कोषकै पक्षमा फैसला सुनाएपछि समितिको कानुनी विकल्प थप सीमित भएको छ ।

      कोषका पूर्व सदस्यसचिव डा. मिलनकुमार थापाले लामो न्यायिक संघर्षपछि पशुपतिनाथको सम्पत्ति फिर्ता भएको बताएका छन्। उनका अनुसार अब उक्त धर्मशालालाई धार्मिक तथा सामाजिक कार्यका लागि गैरनाफामूलक ढंगले सञ्चालन गर्ने योजना अघि बढाइनेछ ।

      अधिवक्ता कृष्णमुरार पुडासैनीका अनुसार दुई तहका अदालतबाट एकै प्रकारको फैसला आइसकेपछि समितिले पुनरावेदन गर्न पाउने सम्भावना न्यून छ। अब धर्मशाला खाली गराउने प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ ।

      इतिहासअनुसार, उक्त क्षेत्र गुठीको जग्गा हो र विगतमा धर्मशाला सञ्चालनका लागि मात्र प्रयोग गर्न दिइएको थियो। अदालतले पनि प्रस्तुत प्रमाणका आधारमा समितिको मोही हक पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ ।

      अब धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोष र सरकारी निकायको समन्वयमा सञ्चालन हुने तयारी गरिएको छ । यसलाई धार्मिक सेवा तथा सामाजिक उपयोगमा केन्द्रित गरिने बताइएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube