
ललितपुर - केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका नेकपा एमालेका सबै सांसदहरूलाई छलफलका लागि भक्तपुरको गुण्डु बोलाएका छन् । आज बिहान ११ बजे हुने उक्त बैठकमा ११ जना सांसद सहभागी हुनेछन् ।
स्रोतका अनुसार संसदीय दलको नेता परिवर्तनको विषयलाई लिएर पछिल्लो समय केही सांसदहरूले नेतृत्वसँग असन्तुष्टि जनाउँदै आएका थिए। सोही सन्दर्भमा अध्यक्ष ओलीले सामूहिक छलफलमार्फत विषय टुंग्याउने तयारी गरेका हुन् ।
दलको नेता परिवर्तन हुने वा नहुने विषयमा अहिलेसम्म कुनै ठोस निर्णय नभए पनि आजको बैठकमा यसबारे विस्तृत छलफल हुने जनाइएको छ । उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल, सामाजिक विकास समितिका सभापति धर्म पाठक र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाललगायत नेताहरू नेतृत्वको सम्भावित दाबेदारका रूपमा चर्चामा छन् ।
त्यस्तै, बैठकमा नेकपा र एमालेबीच सम्भावित सहकार्य, प्रदेश सरकारको अवस्था तथा मन्त्री हेरफेरका विषयमा पनि छलफल हुने बताइएको छ। केही सांसदहरूले कार्यकालको अन्तिम चरणमा मन्त्री हेरफेर गर्नुपर्ने मागसमेत उठाउँदै आएका छन् ।
एमालेका एक नेताका अनुसार बैठकमा तीनवटा मुख्य एजेन्डा रहनेछन्-संसदीय दलको नेतृत्व, सत्ता सहकार्य र मन्त्री हेरफेर । यद्यपि, सांसदहरूलाई औपचारिक रूपमा एजेन्डा सार्वजनिक गरिएको छैन ।
सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल ले अध्यक्ष ओलीले समसामयिक विषयमा छलफल गर्न सांसदहरूलाई बोलाएको जानकारी दिएका छन् ।
बैठकलाई प्रदेशस्तरको राजनीतिक समीकरण र आगामी रणनीति तय गर्ने दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।

बिजनेस पाटी








