
ललितपुर - सरकारले डा. मनोजकुमार शर्मालाई कार्यक्षमताका आधारमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको स्पष्ट पारेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले न्याय क्षेत्र सुधारको प्रयास गरिरहेको बताएका हुन् ।
उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीच स्पष्ट दूरी कायम हुनुपर्ने विषय पहिलेदेखि उठ्दै आएको उल्लेख गर्दै कानुनी तथा संवैधानिक सुधार आवश्यक रहेको बताए ।
प्रवक्ता पोखरेलले अहिलेको न्याय परिषद्को संरचनामाथि पनि प्रश्न उठाउँदै पाँच सदस्यीय परिषद्मा तीन जना राजनीतिक नियुक्तिजस्तो देखिने अवस्था रहेको टिप्पणी गरे ।
उनले भने, “त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि राजनीतिक पृष्ठभूमिको आइराख्नुभएको छ भन्ने कुरा आइरहेको छ । अब त्यहाँबाट संवैधानिक परिषद्को पनि आ–आफ्नै टिकाटिप्पणी पहिलादेखि हुँदै नै आएको हो ।
पोखरेलका अनुसार सम्भवतः पहिलो पटक प्रधानन्यायाधीशको सिफारिस मुद्दा फर्छ्यौटको कार्यसम्पादनलाई आधार बनाएर गरिएको हो ।
उनले थपे, यो पनि एकदमै पर्फेक्ट यही पद्धति हो भनेर भन्न खोजिएको होइन । तर उहाँको कार्यक्षमताको हिसाबमा सिफारिस भएको छ ।

बिजनेस पाटी












