
ललितपुर - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गर्ने तयारी पूरा गरेको जनाएको छ ।
बोर्डले आइतबार सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा विभिन्न डिजिटल माध्यमबाट सहज रूपमा प्राप्त गर्न सकिने जानकारी दिएको हो ।
विद्यार्थी तथा अभिभावकहरूले एसएमएस, आइभीआर र आधिकारिक वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन् । नेपाल टेलिकमको ‘१६००’ सर्टकोडमा एसएमएस, यूएसएसडी वा आइभीआर सेवा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, जानकी टेक्नोलोजीको ‘३५००१’ र एम्बिसन गुरुको ‘३१०६१’ नम्बरमा एसएमएस गरेर पनि नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।
वेबसाइटमार्फत नतिजा हेर्न चाहने विद्यार्थीहरूले बोर्ड र परीक्षा नियन्त्रण कार्यालयका आधिकारिक पोर्टलसहित विभिन्न निजी पोर्टलबाट पनि मार्कसिटसहितको नतिजा हेर्न सक्नेछन् ।
नतिजा उपलब्ध गराउने पोर्टलहरूमा नेपाल टेलिकम रिजल्ट पोर्टल, राष्ट्रिय परीक्षा बोर्ड, खल्ती लगायतका प्लेटफर्म समावेश छन् ।
बोर्डले आधिकारिक तथा प्रमाणित स्रोतबाट मात्रै नतिजासम्बन्धी जानकारी लिन सबैलाई आग्रह गरेको छ ।


बिजनेस पाटी













