ट्राफिक कारबाहीमा पाँचपटक पर्ने चालकको लाइसेन्स नै निलम्बन !

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २७
|
357 views

ललितपुर - काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन दोहोर्‍याउने चालकविरुद्ध अब कडा कारबाही गरिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एउटै कसुरमा पाँचपटकभन्दा बढी कारबाहीमा पर्ने चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गर्ने प्रक्रिया अघि बढाएको हो ।

आइतबार (वैशाख २७) आयोजित कार्यक्रममा कार्यालयका प्रमुख एवं एसएसपी नवराज अधिकारीले ट्राफिक नियमको बारम्बार उल्लंघन गर्ने चालकलाई अब सामान्य जरिवानामै सीमित नराखिने स्पष्ट पारे । उनले भने, पटक–पटक कारबाहीमा परिराख्ने चालकको लाइसेन्स अब निलम्बन हुन्छ । हामीले यो प्रक्रिया अघि बढाइसकेका छौँ ।

    ट्राफिक प्रहरीका अनुसार हालसम्म ३१ जना चालकको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाइसकिएको छ । प्रारम्भिक चरणमा उनीहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न सिफारिस गरिएको एसएसपी अधिकारीले जानकारी दिए ।

    चालु आर्थिक वर्षको चैत मसान्तसम्म काठमाडौं उपत्यकामा मात्रै तीन लाख ७३ हजार ५६२ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार सवारीसाधनको अत्यधिक चापका कारण व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ सम्म ललितपुरस्थित यातायात व्यवस्था कार्यालयमा कुल २० लाख १८ हजार ४३४ सवारीसाधन दर्ता भएका छन् । तीमध्ये १६ लाख ५६ हजार ४८ वटा दुईपांग्रे सवारीसाधन रहेका छन् । यात्रुवाहक सवारीसाधन ४६ हजार ८४४, चारपांग्रे दुई लाख ९६ हजार ८६७ तथा १८ हजार ६७५ इलेक्ट्रिक गाडी दर्ता भएका छन् ।

    दर्ता भएका सवारीसाधनबाहेक अन्य जिल्लाबाट दैनिक लाखौँ सवारी उपत्यकामा प्रवेश गर्ने भएकाले ट्राफिक व्यवस्थापन झन् जटिल बनेको ट्राफिक प्रहरीको भनाइ छ । हाल उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक हजार ११३ जनाको दरबन्दी भए पनि जनशक्ति अपुग भएपछि करिब ४०० जनालाई काजमा खटाइएको छ ।

      काठमाडौं, ललितपुर र भक्तपुरमा ट्राफिक प्रहरीका कुल ७७ वटा युनिट सञ्चालनमा छन् । एउटा युनिटले औसतमा २६ हजारभन्दा बढी सवारीसाधनको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ ।

      एसएसपी अधिकारीका अनुसार ट्राफिक प्रहरी दैनिक १० घण्टासम्म ड्युटीमा खटिने गरेका छन् । उपत्यकाका २८ स्थानमा २४ सै घण्टा ट्राफिक प्रहरी परिचालन गरिएको छ भने दैनिक ३२६ स्थानमा नियमित चेकजाँच सञ्चालन गरिन्छ । व्यस्त समयमा थप ९७ स्थानमा ट्राफिक व्यवस्थापन गरिन्छ भने क्यूआरटी टिममा ६२ जना ट्राफिक प्रहरी खटाइएका छन् ।

      त्यसैगरी, उपत्यकाका ५६ स्थानमा रात्रिकालीन चेकिङ तथा ३६ स्थानमा आकस्मिक चेकिङ पोस्ट सञ्चालन हुने गरेको छ ।

      सवारी दुर्घटनाको अवस्था पनि चिन्ताजनक रहेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको चैतसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा गरी चार हजार ६३१ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १७४ जनाको मृत्यु भएको छ भने १८६ जना गम्भीर घाइते भएका छन् ।

      दुर्घटनामा मृत्यु हुनेमध्ये १६ देखि ३५ वर्ष उमेर समूहका सबैभन्दा धेरै रहेका छन् । यो समूहका ८६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, ३६ वर्षभन्दा माथिका ८१ जना र १६ वर्षमुनिका सातजनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।

      सवारी चोरीका घटनामा पनि वृद्धि देखिएको छ । ट्राफिक प्रहरीले आइतबार मात्रै चोरी भएका ६५ वटा दुईपांग्रे सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता बुझाएको छ । वैशाख महिनाभर प्राप्त उजुरीका आधारमा ती सवारीसाधन फेला पारिएको हो । फेला परेका मोटरसाइकलमध्ये एउटा करिब ३५ लाख रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

      चालु आर्थिक वर्षको चैतसम्म ट्राफिक प्रहरीले ५३४ वटा चोरी भएका दुईपांग्रे सवारीसाधन फेला पारिसकेको छ । यही अवधिमा उपत्यकाबाट सवारी हराएको भन्दै दुई हजार २६ जनाले निवेदन दिएको एसएसपी अधिकारीले जानकारी दिए ।

       पात्रो/राशिफल  रेडियो YouTube