
ललितपुर - संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुने भएको छ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ ।
संसद् सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नेपालको संविधानको धारा ९५ अनुसार प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संयुक्त बैठक सुरु हुनुअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछ । त्यसपछि दुवै सदनको संयुक्त बैठकमार्फत सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिनेछ ।
संयुक्त बैठकका लागि सांसदहरूलाई अपराह्न ३ः४५ बजेभित्र उपस्थित भइसक्न संसद् सचिवालयले अनुरोध गरेको छ ।प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी जानकारी सदनलाई गराइने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिनिधिसभा नियमावली २०७९ अन्तर्गत जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गरिनेछ भने नियमावलीको मस्यौदामाथि पनि छलफल प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ ।
यसैबीच सरकारले हालै जारी गरेका विभिन्न अध्यादेशहरू पनि संसद्मा पेस हुनेछन् । ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३ लगायत आठ वटा अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभामा पेस गर्ने कार्यसूची रहेको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई आगामी बजेटको आधार दस्तावेजका रूपमा हेरिएको छ । सरकारले आर्थिक सुधार, रोजगारी सिर्जना, पूर्वाधार विकास, सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।

बिजनेस पाटी
















