निर्वाचन कानुन सुधारका लागि दलहरूलाई आयोगको आह्वान

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २७
|
51 views

ललितपुर - निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने तयारीस्वरूप राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आयोगले नयाँ निर्वाचन ऐनको मस्यौदामाथि सुझाव लिन भोलि बिहान ११ः३० बजे दलहरूलाई छलफलमा बोलाएको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले निर्वाचनसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन दलहरूसँग परामर्श प्रक्रिया अघि बढाइएको जानकारी दिए । नयाँ ऐनबारे छलफल गर्न दलहरूलाई हामीले भोलि बिहान ११ः३० मा छलफलमा बोलाएका छौँ उनले भने ।

    निर्वाचन आयोगले सातवटा अलग-अलग निर्वाचनसम्बन्धी ऐनलाई एकीकृत गरेर नयाँ विधेयकको मस्यौदा तयार पारेको थियो । आयोगले उक्त मस्यौदा २०८० असार १८ गते सरकारलाई पठाएको भए पनि लामो समयसम्म गृह मन्त्रालयमै थन्किएको थियो ।

      पछि गृह मन्त्रालयले मस्यौदामा केही परिमार्जनको गृहकार्य गरे पनि संसद् विघटन भएपछि उक्त विधेयक पुनः निर्वाचन आयोगमै फिर्ता गरिएको थियो । त्यसपछि आयोगले पुनः प्रक्रिया अघि बढाउँदै राजनीतिक दलहरूबाट सुझाव संकलन गर्न थालेको हो ।

      आयोगले यही वैशाख १५ गते नै सबै राजनीतिक दललाई पत्राचार गर्दै मस्यौदामाथि सुझाव दिन आग्रह गरेको थियो । अब हुने छलफलमा दलहरूको धारणा, सुझाव र आपत्तिहरू समेटेर विधेयकलाई अन्तिम रूप दिने तयारी आयोगको छ ।

      निर्वाचन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नयाँ कानुन आवश्यक रहेको आयोगको भनाइ छ ।

       पात्रो/राशिफल  रेडियो YouTube