वनमन्त्री गीता चौधरीलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष जिम्मेवारी

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २८
|
102 views

ललितपुर - प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरणमन्त्री गीता चौधरीलाई प्रदान गर्नुभएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएकी मन्त्री चौधरीलाई प्रधानमन्त्री शाहले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार कोषको अध्यक्षमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार ऐनले प्रधानमन्त्रीलाई कोषको संरक्षक रहने तथा अध्यक्ष नियुक्त गर्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गर्दै मन्त्री चौधरीलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

      सरकारले यस निर्णयलाई राज्यको आर्थिक भार घटाउने प्रयासका रूपमा प्रस्तुत गरेको छ । विगतमा वन तथा वातावरण मन्त्रीलाई नै कोषको अध्यक्ष बनाउने अभ्यास रहेकाले अतिरिक्त नियुक्ति र सुविधा आवश्यक नपर्ने तर्क सरकारको छ ।

      यसअघि अन्तरिम सरकारका प्रमुख प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई कोषको अध्यक्ष नियुक्त गर्नुभएको थियो । उक्त नियुक्ति राज्यकोषमा थप भार पर्ने र निकट व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै विवादमा आएको थियो ।

      श्रेष्ठमाथि कोषको अध्यक्ष पदको सुविधा लिइरहँदा समाज कल्याण परिषद्मा कानुनी सल्लाहकारको जिम्मेवारीसमेत सम्हालेको आरोप लागेको थियो । दोहोरो जिम्मेवारी र सुविधा लिएको विषय सार्वजनिक भएपछि त्यसबेला व्यापक आलोचना भएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube