ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधार बनाइन्छ : अर्थमन्त्री वाग्ले

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २८
|
51 views

ललितपुर - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको विकासमा विद्युत् क्षेत्रको योगदान निरन्तर बढ्दै गएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का प्रतिनिधिहरूसँगको भेटमा उनले ऊर्जा क्षेत्रलाई अर्थतन्त्र चलायमान बनाउने प्रमुख आधारका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताएका हुन् ।

‘सरकार ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढाउने पक्षमा छ । यसको अर्थतन्त्रमा योगदान बढ्दो छ । अर्थतन्त्र हाँक्ने क्षेत्र बनाउने गरी नीति पनि बनाउँछौँ,’ अर्थमन्त्री वाग्लेले भने ।

    उनले सरकार लगानीकर्तासँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा लगानीकर्ताले उच्च व्यावसायिकता र इमान्दारितासहित काम गर्नुपर्नेमा जोड दिए ।

      भेटमा इप्पानका अध्यक्ष गणेश कार्की ले ऊर्जा क्षेत्रको विकासका लागि लगानीमैत्री नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए । सरकारले अघि सारेको १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्र पूर्ण रूपमा तयार रहेको उनले बताए ।

      अध्यक्ष कार्कीले विद्युत् खरिद सम्झौता (पिपिए) खुलाउनुपर्ने, निजी क्षेत्रलाई विद्युत् व्यापार र प्रसारण लाइनमा सहभागी गराउनुपर्ने तथा धितोपत्र बोर्डबाट समयमै आइपिओ अनुमति दिनुपर्ने माग राखे । उनले आयोजना निर्माणका क्रममा शान्तिसुरक्षाको सुनिश्चितता र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको पनि बताए ।

      इप्पानले सरकारसमक्ष ‘नेपाल ऊर्जा विकास तथा उपभोग अभिवृद्धिको दशक’ घोषणा गर्न सुझाव दिएको छ । कार्यक्रममा सहभागीहरूले १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न विद्युत् खरिद–बिक्रीका वैकल्पिक व्यवस्था कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए ।

       पात्रो/राशिफल  रेडियो YouTube