
ललितपुर - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ ।
प्रतिनिधिसभा बैठकमा विपक्षी दलको तर्फबाट बोल्दै कांग्रेस सांसद अर्जुननरसिंह केसी ले प्रधानमन्त्रीले संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाए ।
उनले भने, “प्रधानमन्त्रीबाट एकपछि अर्को गर्दै संसदीय परम्परा, मान्यता र मूल्य प्रणालीमाथि उपेक्षा भएको भन्ने आम प्रश्न उठेको छ ।
केसीले प्रधानमन्त्री अनुपस्थित हुँदा सरकारले तोकेको मन्त्रीले सदनमा प्रस्ताव टेबल गर्ने संसदीय अभ्यास भए पनि यसपटक सदनलाई बेवास्ता गरिएको टिप्पणी गरे ।
“प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै मन्त्रीले विषय प्रस्तुत गर्ने हाम्रो परम्परा हो । तर प्रधानमन्त्रीबाट यो सदनलाई उपेक्षा भयो,” उनले भने ।
उनले नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बीचमै उठेर बाहिरिएको विषय पनि पुनः उठाउँदै त्यसले संसद्को गरिमामाथि प्रश्न उठाएको बताए ।
कांग्रेसले अब नीति तथा कार्यक्रममाथिको जवाफ दिने क्रममा पनि प्रधानमन्त्री अनुपस्थित रहे आफूहरू बैठकमा सहभागी नहुने स्पष्ट चेतावनी दिएको छ ।

बिजनेस पाटी













