
ललितपुर - राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव पदमा डा. चिरञ्जीवीप्रसाद पोखरेल नियुक्त भएका छन् । वन तथा वातावरणमन्त्री एवं कोषका अध्यक्ष गीता चौधरीले उनलाई वैशाख २९ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि सदस्यसचिवमा नियुक्त गरेकी हुन् ।
हाल कोषको वरिष्ठ निर्देशकका रूपमा कार्यरत डा. पोखरेल प्रतिष्ठित वन्यजन्तु जीवविज्ञ, संरक्षण योजनाकार तथा बाघ विज्ञका रूपमा परिचित छन् । उनीसँग प्रकृति संरक्षण तथा वन्यजन्तु व्यवस्थापन क्षेत्रमा २७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ ।
कोषका अनुसार उनले जैविक विविधता संरक्षण, वन्यजन्तु अनुसन्धान, संरक्षण नीति निर्माण तथा दिगो व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
नवनियुक्त सदस्यसचिव डा. पोखरेलले कोषको उद्देश्य, दूरदृष्टि र मूल्यमान्यताप्रति प्रतिबद्ध रहँदै संस्थालाई प्रकृति संरक्षणको क्षेत्रमा थप प्रभावकारी र उपलब्धिमूलक बनाउने अठोट व्यक्त गरेका छन् ।

बिजनेस पाटी














