
ललितपुर - कृषि विभागले पछिल्ला दिनमा मौसममा आएको परिवर्तनका कारण भण्डारण गरिएका अन्न, दाल तथा खेतीबाली जोगाउन किसानलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार प्रिमनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा औसतभन्दा बढी वर्षा भएकाले भण्डारण गरिएका खाद्यवस्तुमा चिस्यानको समस्या बढ्न सक्ने देखिएको छ ।
यसलाई ध्यानमा राख्दै विभागले भण्डारण गरिएका अन्नको नियमित अनुगमन गर्न तथा खेतमा बाली लामो समय नछाड्न किसानलाई आग्रह गरेको छ ।
विभागले आउँदो साता मध्याह्नपछि हावाहुरी, चट्याङ र असिना पर्ने सम्भावना रहने भएकाले बजार लैजानुपर्ने फलफूल तथा तरकारी बिहान शीत ओभाएपछि मात्रै टिप्न सुझाव दिएको छ ।
महानिर्देशक प्रकाशकुमार सञ्जेलले किसानलाई प्राविधिक सुझाव, बाली संरक्षण र बजारीकरणसम्बन्धी जानकारी दिँदै सम्भावित क्षति न्यूनीकरणका लागि विभागले काम गरिरहेको बताए ।
कृषि सूचना केन्द्रका अधिकृत सन्जीव पण्डितले भण्डारणमा किराबाट जोगाउन निम, बकाइनो र तितेपातीका सुक्खा पात प्रयोग गर्न सुझाव दिएका छन् ।
केन्द्रका अनुसार आलुको पुतली (जोताहा किरा) ले विशेषगरी भण्डारण गरिएको आलुमा क्षति पुर्याउने भएकाले आलु खनेपछि लामो समय खेतमै थुपारेर नराख्न किसानलाई सचेत गराइएको छ ।

बिजनेस पाटी














