
ललितपुर - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाएको छ । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहँदा पनि उपस्थितिका लागि सभामुखले रुलिङ नगरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रतिपक्षी दलहरूले सरकारलाई सदनप्रति उत्तरदायी बनाउन लगातार प्रयास गरिरहेको बताए ।
नीति तथा कार्यक्रममाथिको जवाफ दिन प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन आफूहरू तथा अन्य विपक्षी सांसदहरूले पटक–पटक माग गरे पनि सभामुखबाट अपेक्षित साथ नपाएको र सरकारले समेत बेवास्ता गरेको उनले आरोप लगाए ।
राईले पछिल्ला केही बैठकदेखि रास्ट्रिय स्वतन्त्र पाटिले सरकारको जवाफदेहिता माग गर्दै प्लेकार्ड प्रदर्शन गरिरहेको स्मरण गराउँदै सभामुखले त्यसलाई “अमर्यादित” भनेको उल्लेख गरे ।
उनले अघिल्लो संसद्को उदाहरण दिँदै भने, “आज सत्तामा रहेको दल हिजो प्रतिपक्षमा हुँदा निलो स्कार्फ बाँधेर वेल घेर्ने, पलेंटी कसेर बस्ने र पुस्तक पढ्ने काम गरेको थियो । त्यसबेला त्यो संसदीय मर्यादा मानिने, अहिले प्रतिपक्षले प्लेकार्ड देखाउँदा अमर्यादित कसरी हुन्छ ?
राईले आफ्नो बुझाइमा त्यतिबेलाको शैली पनि गलत रहेको र अहिलेको अवस्था पनि संसदीय मर्यादाअनुकूल नभएको बताए । तर सदनको मर्यादा कायम गराउने मुख्य जिम्मेवारी सरकार र सभामुखकै हुने उनको भनाइ थियो ।
उनले सरकारमाथि संसद्लाई बेवास्ता गरेको आरोप लगाउँदै भने, सरकार र प्रधानमन्त्रीले सदनलाई देखिनसहने, सदन भनेपछि एलर्जी हुने अवस्था देखिएको छ ।
सरकारले “क्रमभंग” को नाममा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासम्म हस्तक्षेप गरिरहेको आरोप लगाउँदै उनले सत्तारुढ दल त्यसलाई ढाकछोप गर्न लागिपरेको टिप्पणी गरे ।
राईले सभामुखलाई लक्षित गर्दै भने, यो सदनको अभिभावक तपाईं हो । सदनको गरिमामा एक इन्च तलमाथि हुँदा त्यो तपाईंको प्रतिष्ठासँग जोडिन्छ । दुई तिहाइको दम्भ देखाएर सदन नमान्ने प्रधानमन्त्रीलाई जबसम्म तपाईंले रुलिङ गरेर उपस्थित गराउन सक्नुहुन्न, तबसम्म यस्ता विरोधका शैली रोकिन्नन् ।



बिजनेस पाटी