एसियन खेलकुद छनोट: चीनविरुद्धको खेलमा नेपालले बनायो १२५ रन

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १३
|
204 views

ललितपुर - मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको खेलमा नेपालले १२५ रनको योगफल बनाएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२५ रनको योगफल बनाएको हो । नेपालका लागि पुजा महतोले सर्वाधिक ६३ रनको योगदान दिइन् । उनले ५७ बलमा ६ चौका प्रहार गर्दै ६३ रन बनाएकी हुन् ।

      त्यसैगरी रुबी पोदारले अविजित २२ रनको योगदान दिइन् भने सोनी पाख्रिनले १८ रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कविता कुँवरले ५ रन जोड्दा सम्झना खड्का र रुविना क्षेत्रीले समान ४/४ रन बनाए ।

      बलिङतर्फ चीनकी मा रुइकाले २ विकेट लिइन भने वाङ हुइयिङ र जियापिङ लीले समान एक/एक विकेट लिइन् । अब नेपाललाई हराउन चीनले निर्धारित २० ओभरमा १२६ रनको योगफल बनाउनुपर्ने हुन्छ ।

      प्रतियोगितामा विभिन्न छ राष्ट्र सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा चीन र इन्डोनेसिया छन् । त्यसैगरी, समूह ए मा भने आयोजक मलेसिया, हङ्कङ र थाइल्यान्ड छन् । प्रतियोगिताका शीर्ष तीन स्थान हासिल गर्ने टोलीले यसैवर्ष जापानमा हुने २०औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिने पाउनेछन् ।

       पात्रो/राशिफल  रेडियो YouTube