हर्मुज शुल्कमा अमेरिकी प्रतिबन्ध

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १४
|
459 views

ललितपुर - रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाब अझ कडा बनाएको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार इरानको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ विरुद्ध प्रतिबन्ध लगाएको घोषणा गरेको हो ।

अमेरिकाका अनुसार उक्त निकायले हर्मुज जलघाँटी प्रयोग गर्ने जहाजहरूबाट शुल्क असुल्ने व्यवस्था सञ्चालन गर्दै आएको छ । विश्व ऊर्जा आपूर्तिको महत्त्वपूर्ण मार्ग मानिने यस जलमार्गसँग सम्बन्धित नयाँ कदमलाई वासिङ्टनले इरानमाथि आर्थिक नियन्त्रण कडा पार्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जारी विज्ञप्तिमा इरानी सेनाले विश्वव्यापी समुद्री व्यापारबाट आर्थिक लाभ उठाउने पछिल्लो प्रयासले तेहरान नगद अभावको दबाबमा परेको सङ्केत दिएको बताउनुभयो । उहाँले इरानी नेतृत्वले आफ्नो कार्यक्रम सञ्चालन गर्न नयाँ राजस्व स्रोत खोजिरहेको दाबी गर्नुभयो ।

विज्ञप्तिअनुसार हर्मुजमार्फत यात्रा गर्न शुल्क तिर्ने व्यक्ति वा संस्थाहरू पनि अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिइएको छ । मन्त्रालयले त्यस्ता भुक्तानीहरूलाई इरानको रिभोलुसनरी गार्ड्सलाई सहयोग वा सेवा उपलब्ध गराएको रूपमा व्याख्या गर्न सकिने उल्लेख गरेको छ ।

बेसेन्टले अमेरिकाले इरानी शासनलाई उसका हतियार कार्यक्रम, क्षेत्रीय सशस्त्र सहयोगी समूह तथा आणविक महत्त्वाकांक्षाका लागि आवश्यक आर्थिक स्रोतबाट वञ्चित गर्न काम गरिरहेको बताउनुभयो । विज्ञप्तिमा अमेरिकाले तेहरानलाई ‘दशौँ अर्ब डलर बराबरको सम्भावित राजस्व पहुँचबाट टाढा राख्न’ सफलता हासिल गरेको दाबी पनि गरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube