
ललितपुर - साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ । पछिल्ला तीन कारोबार दिनदेखि जारी गिरावट यस दिन पनि निरन्तर रहँदा बजार दबाबमै देखिएको हो ।
मंगलबार नेप्से १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्ससहित अन्य उपसूचकहरू पनि सामान्य रूपमा घटेका छन् ।
१३ उपसमूहहरूमध्ये ४ उपसमूह बढेका छन् भने ९ घटेका छन् । होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहमा सामान्य सुधार देखिँदा वित्त उपसमूह सर्वाधिक १.०१ प्रतिशतले घटेको छ ।
तर बजार घटे पनि कारोबार रकम भने बढेको छ । सोमबार ४ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन ३५७ कम्पनीका १ करोड २३ लाखभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार ६ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।
यस दिन दुई कम्पनी सोपान फर्मास्यूटिकल्स र कालिञ्चोक हाइड्रोपावर सकारात्मक सर्किट लेभलमा कारोबार भए। सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर करिब ११ प्रतिशतले बढ्दा उपकार लघुवित्तको मूल्य साढे ७ प्रतिशतभन्दा बढी उकालो लागेको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर भने ९.१६ प्रतिशतले घटेर सर्वाधिक गिरावटमा रह्यो ।
कारोबार रकमका आधारमा कृषि विकास बैंकको एग्रीकल्चर बन्ड शीर्ष स्थानमा रह्यो, जसको ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । त्यस्तै सेन्ट्रल फाइनान्सको करिब ३६ करोड रुपैयाँ र एनबिबिएल डिबेञ्चर २०८५ को ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बिजनेस पाटी