
ललितपुर - एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले आयकर ऐन २०५८ अनुसार ग्राहकहरूको खाताबाट काटिएको करको विवरण आन्तरिक राजश्व विभागको प्रणालीमा समावेश गर्न प्यान अद्यावधिक आवश्यक रहेको जनाएको हो ।
बैंकका अनुसार ग्राहकहरूले बैंकको प्यान अपडेट पोर्टल, मोबाइल बैंकिङ एप वा नजिकको शाखा कार्यालयमार्फत प्यान अद्यावधिक गर्न सक्नेछन् । प्यान अद्यावधिक भएपछि ब्याजमा काटिएको करको विवरण ई–टीडीएस प्रणालीमा प्रविष्ट हुने र करकट्टी तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकले जनाएको छ ।
बैंकले प्यान अद्यावधिक नगरेका कारण ई–टीडीएसमा कर विवरण समावेश नभएपछि उत्पन्न हुन सक्ने समस्याप्रति आफू जिम्मेवार नहुने स्पष्ट गरेको छ ।
यसैबीच, ग्राहकहरूलाई खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरिएको छ । बैंकले भिडियो केवाईसी, मोबाइल बैंकिङ एप वा शाखा कार्यालयमार्फत इमेल ठेगाना अद्यावधिक गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।
प्यान वा इमेल अद्यावधिक सम्बन्धी समस्या आए नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।

बिजनेस पाटी