विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ २८
|
255 views

ललितपुर - गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा केही कानुन बाधकका रुपमा देखिएको बताउनुभएको छ ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा ऐन नै बाधक भएको बताउनुभयो । अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्वबजारमा सुविधा सम्पन्न उपकरणको उपलब्धता भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसुनको समयमा ती सामग्री प्रयोग गर्न नसकिने अवस्था देखिएको उहाँले बताउनुभयो ।

      ‘अहिले २०० किलो ‘लिफ्टिङ’ गर्ने ड्रोन आएका छन् । सार्वजनिक खरिद ऐनअनुसार सो उपकरण किन्न डेढ महिनाभन्दा बढी चाहिन्छ, प्रक्रिया पुर्याएर खरिद गर्दा मनसुन सकिन्छ’, गृहमन्त्री गुरुङले भन्नुभयो, ‘यो कस्तो ऐन हो ? काम गर्न सजिलो हुनेगरी ऐन बनाइदिएको भए हामीले पनि केही गथ्र्यौँ होला ।’

      आफू एक दशकदेखि विपद्का समयमा नागरिकको सेवामा खटिँदै आएको स्मरण गर्दै मन्त्री गुरुङले सिन्धुपाल्चोकमा र काभ्रेपलाञ्चोकमा पहिलो पटक उच्च भारवहन क्षमताको ड्रोनमार्फत राहत वितरण गरिएको बताउनुभयो । उहाँले उपत्यकाका नदी किनारमा जोखिमयुक्त अवस्थामा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताउनुभयो । नदी किनाराबाट होल्डिङ सेन्टरमा राखिएका नागरिकको अवस्था बुझ्न स्थलगत अनुगमन गर्ने तयारीमा रहेको गृहमन्त्री गुरुङले जानकारी दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube