महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना

BusinessPati बिजनेस पाटी
|
२०८३ असार ११
|
204 views

ललितपुर - सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले महाधिवेशनले रास्वपालाई थप सुदृढ, जिम्मेवार र एकीकृत बनाउने बताउनुभएको छ ।

पार्टीको पहिलो महाधिवेशनमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले महाधिवेशनपछि पार्टी थप बलियो र जिम्मेवार ढङ्गले अघि बढ्ने बताउनुभयो ।

      ‘रास्वपाभित्र गुट–उपगुट नभएकाले एकीकृत भएर जानुको विकल्प छैन । महाधिवेशन प्रतिनिधिले दिएको निर्णयलाई आत्मसात गरी रास्वपालाई राम्रो बनाउने हाम्रो जिम्मेवारी हो, पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन ।’

      राजनीतिक पार्टी जीवनमा महाधिवेशनको ठूलो अर्थ रहने बताउँदै मन्त्री तिमिल्सिनाले महाधिवेशनले पार्टीलाई थप बलियो र एकीकृत बनाएर लैजाने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको तल्लो तहमा रही देशका कुना कुनाबाट आएका साथीहरुले रास्वपाको गति र भावना बोक्नेलाई विवेक पुर्‍याएर मतदान गरिराख्नुभएको छ । यही हो पार्टी जीवनको लोकतन्त्र ।’

      मन्त्री डा तिमिल्सिनाले महाधिवेशनले छान्ने नेतृत्वले मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल रास्वपालाई आमनागरिकको अपेक्षा अनुरुप अगाडि बढाउने विश्वास दिलाउनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube