
ललितपुर - नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि मासिक रूपमा स्वतः नवीकरण (Subscription-Based Model) हुने नयाँ प्याकेज सेवा सञ्चालनमा ल्याएको छ । अब ग्राहकले एकपटक प्याकेज सक्रिय गरेपछि प्रत्येक महिना पुनः प्याकेज खरिद गर्नुपर्ने झन्झट हट्ने भएको छ ।
कम्पनीका अनुसार सेवाग्राहीले पहिलो पटक प्याकेज सक्रिय गरेपछि मोबाइल ब्यालेन्समा पर्याप्त रकम भएमा उक्त प्याकेज हरेक महिना स्वतः नवीकरण हुनेछ । टेलिकमले ३० दिन अवधिका तीनवटा प्याकेज उपलब्ध गराएको छ ।
‘नमस्ते रिकरिङ २९९’ प्याकमा ३०० मिनेट सबै नेटवर्कमा कल गर्न मिल्ने अल–नेट भ्वाइस, जुनसुकै समयमा प्रयोग गर्न सकिने ४ जीबी डाटा, राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने २ जीबी नाइट डाटा तथा कम्पनीकै नेटवर्कमा पठाउन मिल्ने २० वटा अन–नेट एसएमएस उपलब्ध हुनेछ ।
त्यस्तै, ‘नमस्ते रिकरिङ ४९९’ प्याकमा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डाटा, ४ जीबी नाइट डाटा तथा सबै नेटवर्कमा पठाउन मिल्ने १०० वटा अल–नेट एसएमएस समावेश गरिएको छ ।
‘नमस्ते रिकरिङ ७९९’ प्याकमा भने सबै नेटवर्कमा असीमित कल, प्रतिदिन १० जीबी (मासिक ३०० जीबी) डाटा र ३०० वटा अल–नेट एसएमएस उपलब्ध हुनेछ ।
ग्राहकको अतिरिक्त डाटा आवश्यकतालाई ध्यानमा राख्दै टेलिकमले एड–अन प्याकेज पनि उपलब्ध गराएको छ । यसअन्तर्गत ३० रुपैयाँमा १ दिनका लागि १ जीबी, ५० रुपैयाँमा ३ दिनका लागि २ जीबी तथा ९९ रुपैयाँमा ७ दिनका लागि ४ जीबी डाटा प्राप्त गर्न सकिनेछ ।
सेवाग्राहीले *1415# डायल गरी प्राप्त निर्देशनअनुसार यी सब्स्क्रिप्सनमा आधारित प्याकेज खरिद गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ ।

बिजनेस पाटी