गीतकार पुष्पा खनाललाई नेपालमा सम्मान, अमेरिकामा कोषाध्यक्षको जिम्मेवारी

BusinessPati बिजनेस पाटी
|
२०८३ असार १४
|
1.5k views

ललितपुर -

गीतकार पुष्पा खनाललाई यो साता फरक फरक दुई सफलता मिलेको छ । उनी  गितिलेखनमा योगदान पुराए बापत म्युजिक खबर म्युजिक अवार्ड २०८२ मा आइतबार नेपालमा सम्मानित हुँदा केही दिन अघि मात्र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमिति (२०२६२०२८) को  लागि कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् । 

    नेपाली गीति साहित्यको क्षेत्रमा आफ्ना सशक्त शब्द, गहिरो संवेदना र सिर्जनात्मक निरन्तरतामार्फत विशिष्ट पहिचान स्थापित गर्न सफल गीतकार, कवयित्री तथा स्रष्टा पुष्पा खनाल नेपाली साङ्गीतिक जगतमा शब्द सिर्जनाको अब्बल खानीका रूपमा परिचित छिन्। विगत तीन दशकभन्दा लामो समयदेखि गीत, कविता, कथा तथा साहित्यका विविध विधामा निरन्तर साधनारत उनले औपचारिक रूपमा वि।सं  २०५५ सालदेखि साहित्य यात्राको प्रारम्भ गरेकी हुन् । 

      हाल अमेरिकाको भर्जिनियालाई कर्मथलो बनाउँदै आएकी खनालले मातृभूमिप्रतिको माया, मानवीय संवेदना, प्रेम, जीवनका सङ्घर्ष र सामाजिक यथार्थलाई आफ्ना सिर्जनाको केन्द्रमा राख्दै नेपाली सङ्गीतलाई समृद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएकी छन् । उनका कलमबाट दुई सयभन्दा बढी गीतहरू सिर्जना भइसकेका छन्। आमा, माया केवल माया, यो आँखाको पानी, एउटा माझी, जिउनै पर्छ, तिम्रो खुसी, प्यासी प्यासी, पिरतीको गीत लगायतका लोकप्रिय गीतहरूले नेपाली श्रोतामाझ विशेष स्थान बनाएका छन्।

      उनका गीत सङ्ग्रह पोखिएँ यसरी र गह पोखिएर प्रकाशित छन् भने प्रतिष्ठा र अभिनव जस्ता साङ्गीतिक एल्बममार्फत पनि उनले आफ्नो सिर्जनात्मक यात्रालाई थप उचाइ दिएकी छन् ।  स्वदेशमा मात्र नभई प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र सङ्गीतको संरक्षण, प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय पहिचान विस्तारमा उनले पुर्‍याएको निरन्तर योगदानको उच्च कदर गर्दै १३औँ म्युजिक खबर म्युजिक अवार्ड २०८२ को अवसरमा उनलार्ई म्युजिक खबर डायस्पोरा सङ्गीत सम्मान २०८२ प्रदान गरिएको हो । म्युजिक खबर म्युजिक अवार्डको १३ औँ संस्करणमा  प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले उक्त सम्मान अर्पण गरेका हुन् । खनालको प्रतिनिधित्व गर्दे उनको गीतमा अभिनय गरेका अभिनेता श्रीदेव भट्टराईले उक्त सम्मान ग्रहण गरेका थिए । 

      समारोहमा प्रतिष्ठित सङ्गीतकार शम्भुजित बास्कोटालाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२’ अर्पण गरिएको थियो ।  कार्यक्रममा गीतकार उन्नति बोहरा शीला, गीतकार विजय शिवाकोटी, गायक शिव परियार, गायिका कालिका रोका मगर, गीतकार पुरुषोत्तम सानु र सुशीला पौडेल, सञ्चार कर्मी कुवेर गिरी र गोपीकृष्ण चापागाईँ बाल कलाकार युनिश घिमिरे , गायक, सङ्गीतकार एवं गीतकार डा रणजित झा लगायतलाई पनि विभिन्न विधामा सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा म्युजिक खबर म्युजिक अवार्ड २०८२ मा प्रतिस्पर्धामा रहेका  ३३ विधाका सर्वोत्कृष्ट विजेताहरूलाई अवार्ड प्रदान गरिएको थियो । 

      अवार्डको जुरी संयोजकमा प्रसिद्ध गीतकार लोकराज अधिकारी र सदस्यहरूमा प्रसिद्ध गीतकार तथा सङ्गीतकार कस्तुप पन्त र प्रसिद्ध गायिका देवी घर्ती रहेका थिए ।  

       पात्रो/राशिफल  रेडियो YouTube