शेयर बजारको ओरालो यात्रा जारी, नेप्से २४.६३ अंकले घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ असार १६
|
255 views

ललितपुर - साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । लगातार छैटौं कारोबार दिन बजार ओरालो लाग्दै नेप्से २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा कायम भएको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.०४ अंक, फ्लोट इण्डेक्स १.५२ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.१० अंकले घटेका छन् ।

    परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार ३६५ वटा स्टकको ७९ हजार २८६ पटक कारोबार हुँदा ८७ लाख ३७ हजार कित्ता शेयर किनबेच भएको छ । यसबाट कुल ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

      कारोबारका क्रममा स्नो रिभर्स लिमिटेडको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । कम्पनीको शेयर मूल्य ५९ रुपैयाँ २० पैसा अर्थात १५ प्रतिशतले बढेर ४५४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य १३ प्रतिशतभन्दा बढी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य करिब ११ प्रतिशतले वृद्धि भएको छ । यता, टक्सार पिखुवा खोला हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १४.०३ प्रतिशतले घटेको छ ।

      कारोबार रकमका आधारमा सिद्धार्थ बैंक अग्रस्थानमा रहँदै १३ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ । त्यसपछि टक्सार पिखुवा खोला हाइड्रोपावरको करिब ११ करोड ५० लाख रुपैयाँ तथा याम्बालिङ्ग हाइड्रोपावरको करिब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

      उपसमूहतर्फ मंगलबार १३ वटै उपसमूहका परिसूचक घटेका छन्। तीमध्ये व्यापार उपसमूह सर्वाधिक १.७४ प्रतिशतले घटेको छ। वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।

       पात्रो/राशिफल  रेडियो YouTube