बाजुराका ६ सामुदायिक विद्यालयलाई कुमारी बैंकद्वारा स्मार्ट टेलिभिजन हस्तान्तरण

BusinessPati बिजनेस पाटी
|
२०८३ असार २५
|
102 views

ललितपुर - कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्रस्थित गौमुल गाउँपालिकाका ६ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन प्रदान गरेको छ।

बैंकको गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमको उद्देश्य ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण–सिकाइलाई प्रवर्द्धन गर्नु, विद्यार्थीहरूको डिजिटल शिक्षामा पहुँच विस्तार गर्नु तथा गुणस्तरीय शिक्षाको अवसरलाई थप सुदृढ बनाउनु रहेको बैंकले जनाएको छ।

    भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयहरूमा स्मार्ट टेलिभिजन उपलब्ध गराइएपछि शिक्षण–सिकाइ प्रक्रिया थप प्रभावकारी, प्रविधिमैत्री र आकर्षक बन्ने अपेक्षा गरिएको छ।

      यस कार्यक्रमअन्तर्गत श्री मानाकोट माध्यमिक विद्यालय (गौमुल–५), श्री जनज्योति माध्यमिक विद्यालय (गौमुल–२), श्री अम्लिश माध्यमिक विद्यालय (गौमुल–१), श्री फूलपाता माध्यमिक विद्यालय (गौमुल–२), श्री किर्तिचौर माध्यमिक विद्यालय (गौमुल–६) तथा श्री बालविकास माध्यमिक विद्यालय (गौमुल–३) लाभान्वित भएका छन्।

      बैंकका अनुसार स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीहरूले डिजिटल सामग्री, श्रव्य–दृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित शिक्षासँग सहज रूपमा जोडिने अवसर प्राप्त गर्नेछन्। यसले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई पनि शहरी क्षेत्रका विद्यार्थीसरह प्रविधिमैत्री शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

      ‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनाअनुरूप बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। शिक्षा क्षेत्रमा गरिएको यस सहयोगले भविष्यका पुस्तालाई डिजिटल युगअनुकूल ज्ञान र सीप विकास गर्न प्रेरित गर्नुका साथै स्थानीय तहमा शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

      विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८६ शाखा, ४१ विस्तार काउन्टर, ३०४ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले शहरी, अर्ध–शहरी तथा ग्रामीण क्षेत्रमा गुणस्तरीय बैंकिङ सेवाको पहुँच विस्तारसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

       पात्रो/राशिफल  रेडियो YouTube