
ललितपुर - कारोबारको अन्तिम समयमा देखिएको उत्साहले बिहीबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेको हो ।
आज दिनभर बजार परिसूचक घट्दो अवस्थामा थियो । कारोबार बन्द हुनुभन्दा ५ मिनेट अघिसम्म बजार २५८२ अंकको हाराहारीमा थियो । तर, अन्तिम समयमा बजारले एकैपटक झण्डै १५ अंकको सुधार हासिल गर्यो । योसँगै बजार बढेर बन्द भएको हो ।
आज १२१ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन छैन ।
बजारमा तीन कम्पनीको सेयर मूल्य १४ प्रतिशत भन्दा धेरैले बढेको छ । यी कम्पनीहरुमा एनआईबीएल ग्रोथको १४.९६ प्रतिशत, फस्ट माइक्रोको १४.६७ प्रतिशत र चिरखुवा हाइड्रोको १४.३४ प्रतिशत रहेका छन् ।
बिहीबार ३७१ कम्पनीको ९४ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सिंगटी हाइड्रो इनर्जीको भएको छ । सिंगटीको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै ८.५ प्रतिशत सानिमा डिभेन्चरको २३ करोड, एनआरएन इन्फ्राइस्ट्रकचरको २२ करोड, सेन्चुरी डिभेन्चरको १८ करोड र रिडि पावरको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिजनेस पाटी