
ललितपुर - दोलखा जिल्लामा सञ्चालित गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयवासीका लागि ५ लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो।
यस सम्बन्धमा गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडका अध्यक्ष मित्रबहादुर श्रेष्ठ र आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
गुमुखोला भ्याकुरे जलविद्युत् आयोजना दोलखाको कालिञ्चोक गाउँपालिकामा अवस्थित छ। ‘रन अफ द रिभर’ प्रविधिमा आधारित यस आयोजनाको कुल जडित क्षमता ९५० किलोवाट रहेको छ। आयोजनाबाट वार्षिक करिब ५.६ गिगावाट घण्टा विद्युत् उत्पादन भइरहेको कम्पनीले जनाएको छ।
उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको सिंगटी सबस्टेशनमा जोडिएको छ। कम्पनीले आईपीओ निष्काशनमार्फत आयोजना विस्तार तथा वित्तीय व्यवस्थापनलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।

बिजनेस पाटी