नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले दियो शिवराम भण्डारीलाई सर्वसम्मत नेतृत्व 

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण २५
|
153 views

ललितपुर -

   पेरिसमा सम्पन्न नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । ९ अगस्ट २०२६ मा आयोजित अधिवेशनले भण्डारीलाई सर्वसम्मत नेतृत्व दिएको हो ।

    निवर्तमान सभापति सुधीर रानाको सभापतित्वमा भएको उदघाटन सत्रमा  लोकतान्त्रिक आन्दोलनका ज्ञात–अज्ञात सहिद तथा संस्थापक संरक्षक स्व. किरणचन्द्र सिंह प्रधानको स्मृतिमा एक मिनेट मौन धारण गरिएको थियो । केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुवराज पौडेल प्रमुख अतिथि र केन्द्रीय पर्यवेक्षक अंकील ओली विशिष्ट अतिथिका रूपमा सहभागी उक्त अधिवेशन निर्वाचन संयोजक सुवर्णविक्रम हमालको संयोजनमा विधानसम्मत ढङ्गले सम्पन्न भएको थियो ।

    अधिवेशनमा एनआरएनए फ्रान्सका पूर्व महासचिव एवं जनसम्पर्क समितिका पूर्व महामन्त्री कमलविक्रम केसी, एनआरएनए फ्रान्सका पूर्व उपाध्यक्ष चेनभक्त ढुङ्गाना, वरिष्ठ पत्रकार दीपक चालिसे तथा संस्थापक कोषाध्यक्ष देव जङ्ग गुरुङलगायतका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै संस्थापक नेतृत्वले प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउन जनसम्पर्क समितिको भूमिका अतुलनीय रहेको चर्चा गर्दै नयाँ टोलीलाई शुभकामना व्यक्त गरेका थिए । 

      दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नेतृत्व हस्तान्तरण गरेका निवर्तमान सभापति सुधीर रानाले आफ्ना अनुभव साझा गर्दै नयाँ समितिलाई पूर्ण सहयोगको प्रतिबद्धता जनाए । नवनिर्वाचित सभापति भण्डारीले संस्थाको गरिमालाई अझ उच्च बनाउँदै फ्रान्सस्थित नेपाली समुदायको हकहित, एकता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि आफ्नो टिम निष्ठापूर्वक क्रियाशील रहने प्रण गरे । नयाँ कार्यसमितिको वरिष्ठ उपसभापतिमा कृष्ण गुरुङ, उपसभापति द्वयमा विकास के.सी. र सुजन राज भट्ट तथा महामन्त्रीमा सुशील भण्डारी चयन भएका छन् ।  त्यसै गरी, सहमहामन्त्रीको जिम्मेवारी विवेक धमला र कोषाध्यक्षको दायित्व दीपेन्द्र दाहालले सम्हाल्ने छन् । कार्यसमिति सदस्यहरूमा सचिन सेन, सागर गुरुङ र चिरञ्जीवी सापकोटा निर्वाचित भएका छन् । 

       पात्रो/राशिफल  रेडियो YouTube