
ललितपुर - इरानले अमेरिका र इरानबीच भएको १४–बुँदे समझदारीमा उल्लेखित ६० दिने वार्ताको अवधि अब सान्दर्भिक नरहेको बताउँदै अमेरिकाले समझदारीमा हस्ताक्षर गरेको केही सातामै त्यसको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार ६० दिनको अवधि समाप्त भएको विषयमा प्रतिक्रिया दिँदै इरानले बाह्य दबाब, अल्टिमेटम वा समयसीमाका आधारमा आफ्नो नीति तय नगर्ने बताउनुभयो । उहाँका अनुसार समझदारीमा प्रतिबन्ध हटाउने र आणविक विषयमा ६० दिनभित्र छलफल गर्ने तथा सहमति हुन नसके अवधि थप गर्न सकिने व्यवस्था थियो ।
‘संयुक्त राज्य अमेरिकाले जुन १८ मा समझदारीमा हस्ताक्षर गरेको केही सातामै त्यसको पाठको घोर र व्यापक उल्लङ्घन गरेकाले ६० दिने छलफल अब सान्दर्भिक छैन’, बाघाईले भन्नुभयो ।
इरानी समाचार संस्था आइएसएनएका अनुसार उहाँले उक्त समझदारीअन्तर्गत वास्तविक वार्ता नै सुरु हुन नसकेको दाबी गर्नुभयो । बाघाईले इरानले आफ्नो राष्ट्रिय हित र सुरक्षालाई आधार बनाएर निर्णय गर्ने स्पष्ट पार्दै दबाब वा समयसीमाका आधारमा नीति परिवर्तन नगर्ने बताउनुभयो ।
उहाँले तेहरान अहिले देशको आन्तरिक मामिला व्यवस्थापनमा केन्द्रित रहेको र इरानी सशस्त्र सेना सुरक्षा अवस्थाप्रति पूर्ण सतर्क रहेको बताउनुभयो । “हाम्रा सशस्त्र सेनाले हरेक गतिविधिलाई खुला आँखा र पूर्ण सतर्कताका साथ हेरिरहेका छन्”, उहाँले भन्नुभयो ।
छिमेकी तथा अन्य मुलुकसँगको सम्बन्ध सुदृढ पार्नु विदेश मन्त्रालयको नियमित जिम्मेवारी भएको बाघाईले बताउनुभयो । उहाँका अनुसार इरान क्षेत्रका सबै देश तथा सम्बन्धित पक्षसँग सम्पर्कमा रहँदै कूटनीतिक गतिविधि अघि बढाइरहेको छ ।
बाघाईको भनाइ इरानी संसद्का अध्यक्ष मोहम्मद गालिबफले इरान अमेरिका र इजरायलको नेतृत्वमा भएको भनिएको ‘अन्यायपूर्ण युद्ध’ मा सैन्य तथा राजनीतिक रूपमा विजयी भएको दाबी गरेको एक दिनपछि आएको हो । सरकारी प्रसारक प्रेस टिभीका अनुसार गालिबफले इरान र अमेरिकाबीचको समझदारीलाई कूटनीतिक सफलताको आधारका रूपमा समेत प्रस्तुत गर्नुभएको थियो ।
गालिबफले इरान ‘सैन्य र राजनीतिक दुवै रूपमा विजयी’ भएको दाबी गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको सैन्य पूर्वाधार ध्वस्त भएको दाबी गर्दै आउनुभएको छ ।
प्रेस टिभीका अनुसार गालिबफले इरान–अमेरिका समझदारीलाई ‘गर्व र विजयको स्रोत’ भन्दै यसले कूटनीतिक मोर्चामा इरानको सफलतालाई थप बलियो बनाउन सहयोग गर्ने बताउनुभएको थियो ।

बिजनेस पाटी