पदमा फर्किएको एक दिनमै मेक्सिकन गभर्नर पुनः बिदामा

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ७
|
255 views

ललितपुर - अमेरिकामा लागुऔषध तस्करीसम्बन्धी आरोपमा खोजीमा रहेका मेक्सिकोको सिनालोआ राज्यका गभर्नर रुबेन रोचा मोया पदमा फर्किएको एक दिनमै पुनः बिदामा बस्ने घोषणा गर्नुभएको छ ।

रोचाले शनिबार राज्य काङ्ग्रेसलाई ३० दिनभन्दा बढी अवधिका लागि अनिश्चितकालीन अस्थायी बिदा स्वीकृत गर्न आग्रह गर्दै सामाजिक सञ्जाल एक्समा पत्र सार्वजनिक गर्नुभएको हो ।

उहाँले शुक्रबार मात्रै सिनालोआको नेतृत्व पुनः सम्हालेको घोषणा गर्नुभएको थियो । मेक्सिकन अभियोजकहरूले अनुसन्धान अघि बढाएपछि उहाँले यसअघि मे महिनामा पदबाट अस्थायी रूपमा अलग हुनुभएको थियो ।

रोचाको पुनरागमनको घोषणाप्रति राष्ट्रपति क्लाउडिया शेनबाउमले शनिबार असन्तुष्टि जनाउनुभयो । उहाँले कसैको पनि व्यक्तिगत स्वार्थलाई जनताको हितभन्दा माथि राख्न नहुने बताउनुभयो ।

पत्रकारहरूले रोचाको विषयमा सोध्दा शेनबाउमले आफूले उहाँको सामाजिक सञ्जालको पोस्टबाट मात्रै पदमा फर्किएको जानकारी पाएको जानकारी दिनुभयो ।

अमेरिकी न्याय विभागले अप्रिलमा रोचासहित सत्तारूढ मोरेना पार्टीका नौ अधिकारीविरुद्ध अमेरिकामा लागुऔषध वितरण गर्न सिनालोआ कार्टेलसँग सहकार्य गरेको आरोप लगाउँदै उनीहरूलाई सुपुर्दगी गर्न माग गरेको थियो । अमेरिकाले बहालवाला मेक्सिकन राजनीतिज्ञविरुद्ध सार्वजनिक रूपमा आरोप लगाएको यो पहिलो घटना भएको बताइएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube