
ललितपुर -
रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भइरहेका बेला काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाका कर्मचारीहरूले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ७२ हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला को संयोजनमा बुधवार बसेको बैठकले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नगरपालिका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीबाट सङ्कलित १५ लाख ७२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । नगरपालिकाले बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने निर्णयसमेत गरेको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न नगरपालिकाको आर्थिक प्रशासन महाशाखाले प्रचलित कानुन तथा स्वीकृत प्रक्रियाबमोजिम तत्काल आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।
बैठकले विपद् प्रभावित क्षेत्रमा आवश्यक परेको समयमा बुढानीलकण्ठ नगर अस्पतालको र्रयापिड रेस्पोन्स मेडिकल टिम लाई पूर्ण रूपमा परिचालन गर्ने पनि निर्णय गरेको छ ।
बाढी तथा पहिरोबाट प्रभावित नागरिक तत्काल राहत, उद्धार र पुनर्स्थापनाको पर्खाइमा रहेका बेला बुढानीलकण्ठले देखाएको यो अग्रसरताले अन्य स्थानीय तहलाई समेत विपद्को समयमा आ–आफ्नो क्षमता र स्रोतअनुसार सहयोगका लागि अघि बढ्न प्रेरित गरेको छ । नगरपालिकाले बाढी तथा विपद्बाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सम्बन्धित सबै पक्षलाई प्रभावकारी समन्वय र सहकार्यमा जुट्नसमेत आग्रह गरेको छ ।

बिजनेस पाटी