भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १३
|
459 views

ललितपुर - रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर प्रदेशका १७१ जना हराइरहेकामा आजसम्म टेलिफोनमार्फत २२ जना सम्पर्कमा आएका छन् ।

हालसम्म सप्तरीका ४५, पर्साका ३९, रौतहटका १७, बाराका २३, सर्लाहीका १५, महोत्तरीका १७, धनुषाका पाँच र सिरहाका १० जना सम्पर्कविहीन रहेका विवरण प्राप्त भएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो ।

सम्पर्कविहीनमध्ये आज बिहानसम्ममा पर्साको पोखरिया नगरपालिका-५ का ओजिर अन्सारी, वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, बाराको कलैया उपमहानगरपालिका-२२ का सत्यम राम, जितपुर सिमरा उपमहानगरपालिका-१२ का रोजितकुमार साह, स्वर्ण गाउँपालिका-३ का रुपेश गुप्ता सम्पर्कमा आएका प्रवक्ता ढकालले बताउनुभयो ।

त्यस्तै, रौतहटको गढीमाई नगरपालिका-७ का मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, रौतहटकै ईशनाथ नगरपालिका-४ का सेख मजिद, रौतहटको चन्द्रपुर नगरपालिका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएको प्रवक्ता ढकालले बताउनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube