
ललितपुर -
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो प्रशासनले भेनेजुएलासँग बृहत् तेल सम्झौता गरेको बताउनुभएको छ । सम्झौता कार्यान्वयन भएमा अमेरिकाले भेनेजुएलाका विशाल अप्रयुक्त तेल भण्डारमा लागत मूल्यमा पहुँच पाउनेछ सामाजिक सञ्जालमार्फत सम्झौताको घोषणा गर्दै ट्रम्पले विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ र भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजबीच भएको वार्तापछि सम्झौता भएको बताउनुभयो ।
संयुक्त राज्य अमेरिकाले भर्खरै भेनेजुएला राष्ट्रसँग विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता गरेको छ, ट्रम्पले लेख्नुभएको छ ।
रोड्रिगेज नेतृत्वको सरकारले जारी गरेको विज्ञप्तिअनुसार सम्झौतामा ६५ अर्ब ब्यारेल प्रमाणित क्षमता भएका १७ वटा तेल क्षेत्रको विकास समावेश छ । यसबाट भेनेजुएलाको तेल उद्योगमा १०० अर्ब डलरसम्म लगानी भित्र्याउन तथा सरकारलाई २०९ अर्ब डलरभन्दा बढी कर राजस्व प्राप्त हुन सक्ने अनुमान गरिएको छ । रोड्रिगेजले टेलिग्राममा सम्झौताले राष्ट्रको पुनरुत्थानमा महत्वपूर्ण प्रभाव पार्ने, बताउनुभयो ।
सम्झौताबारे जानकार एक अमेरिकी अधिकारीका अनुसार अमेरिकाले भेनेजुएलाको एक अज्ञात निजी सञ्चालकसँग मिलेर तेल क्षेत्रको विकास र व्यवस्थापनका लागि नयाँ निजी कम्पनी स्थापना गर्न सक्नेछ । सार्वजनिक रूपमा टिप्पणी गर्ने अधिकार नभएकाले नाम नखुलाउने सर्तमा ती अधिकारीले रोड्रिगेजले उक्त कम्पनीलाई तेल क्षेत्र विकासका लागि १०० वर्षको अधिकार दिएको बताउनुभयो ।
तेलको मूल्य घटाउन दबाब
ट्रम्पको घोषणापछि अमेरिकामा इन्धनको मूल्य घट्ने अपेक्षा गरिएको भए पनि भेनेजुएलाको तेल उत्पादन तत्काल बढ्न नसक्ने विज्ञहरूले बताएका छन् । देशको जीर्ण तेल पूर्वाधारको मर्मत तथा विस्तार गर्न वर्षौं लाग्ने र अर्बौं डलर आवश्यक पर्ने उनीहरूको भनाइ छ ।
अमेरिकामा इन्धनको मूल्य घटाउन ट्रम्पमाथि दबाब बढिरहेका बेला सम्झौता भएको हो । इरानविरुद्ध जारी अमेरिका–इजरायल द्वन्द्वका कारण होर्मुज जलसन्धिबाट हुने खाडी क्षेत्रको तेल ढुवानीमा ठूलो कमी आएको छ । द्वन्द्वअघि विश्वको करिब २० प्रतिशत पेट्रोलियम यही जलमार्गबाट ओसारपसार हुने गरेको थियो ।
अमेरिकाले इन्धनको आपूर्ति व्यवस्थापन गर्न रणनीतिक पेट्रोलियम भण्डारसमेत प्रयोग गरेको छ । अगस्तको सुरुवातमा उक्त भण्डार ३० करोड ब्यारेलभन्दा तल झरेको थियो, जुन सन् २०२६ को सुरुआतयता १० करोड ब्यारेलभन्दा बढीको कमी हो ।
एएएका अनुसार शुक्रबार अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन करिब चार दशमदव ०९ डलर थियो । गत वर्ष सोही समयमा औसत मूल्य तीन दशमलव २१ डलर रहेको थियो लगानीका चुनौती
भेनेजुएलामा अमेरिकी तेल कम्पनीहरूलाई पुनः लगानीका लागि आकर्षित गर्न भने राजनीतिक अनिश्चितता र दशकौँदेखि कमजोर बनेको पूर्वाधार चुनौती बन्न सक्ने देखिएको छ ।
मादुरोलाई पदच्युत गरेपछि ट्रम्पले ह्वाइट हाउसमा तेल उद्योगका कार्यकारीहरूलाई बोलाएर भेनेजुएलामा पुनः लगानी गर्न आग्रह गर्नुभएको थियो । उनीहरूले त्यहाँको सम्भावनाप्रति चासो देखाए पनि विगतको अनुभवका कारण सावधानी अपनाउनुपर्ने बताएका थिए ।



बिजनेस पाटी