
ललितपुर - साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको बजारले बुधबार पनि बढ्ने क्रमलाई निरन्तरता दिएको हो ।
सेन्सेटिभ इन्डेक्स ३.०२ अंकले बढेको छ। फ्लोट इन्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१७ अंकले बढेका छन् ।
बजार बढेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । मंगलबार २ अर्ब ९० करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ३५४ कम्पनीका ७२ लाख ६८ हजार कित्ता सेयर ३९ हजार ६७३ पटकको कारोबारबाट २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँमा किनबेच भएको छ ।
उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ११.८७ प्रतिशत बढेको छ । माथिल्लो मैलुङ खोला जलविद्युत् र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि १० प्रतिशतभन्दा बढी बढेको छ ।
एनएमबी इनर्जी बन्ड ४ प्रतिशत २०९३/९४ को मूल्य भने सर्वाधिक ५.८१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा सानिमा मिडिल तमोर हाइड्रोपावर शीर्ष स्थानमा छ । कम्पनीको १४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको साढे १२ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ११ वटाको परिसूचक बढेको छ भने दुई वटाको घटेको छ । जलविद्युत् उपसमूह सर्वाधिक ०.९५ प्रतिशत बढेको छ । म्युचुअल फन्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक भने सामान्य घटेको छ ।



बिजनेस पाटी