
ललितपुर - आगामी असोज २३ र २४ गते हुने ललितपुर उद्योग वाणिज्य सङ्घको ४७औँ साधारण सभाबाट सङ्घको नेतृत्व लिन वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष सुशन महर्जनले आफ्नो आन्तरिक तयारीलाई तीव्रता दिएका छन् ।
सङ्घको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका महर्जनले दैनिक जसो आन्तरिक भेटघाट र छलफल गरिरहेका छन् । शनिवार ललितपुर तयारी पोशाक व्यापार सङ्घले बाढी तथा पहिरोबाट प्रभावित बिरामीको सहयोगार्थ मंगलबजारमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा अतिथिका रूपमा आएका महर्जनले बिजनेसपाटी सँग संक्षिप्त कुराकानी गर्दै यस अघि आफूले प्राप्त गरेको अनुभवका आधारमा सङ्घको नेतृत्व लिएर समग्र उद्योगी ब्यबसायीहरुको हकहितका लागि उदाहरणीय काम गरेर देखाउने बताए ।

निजी क्षेत्रका समस्या र आवाजलाई तीन वटै तहका सरकारका साथै नेपाल उद्योग वाणिज्य महासङ्घसम्म सशक्त रूपमा उठाएर व्यावहारिक समाधान खोज्ने आफ्नो मुख्य प्राथमिकता रहेको पनि उनले बताए ।
सङ्घमा लामो समयदेखि आबद्ध उनी उद्योगी–व्यवसायीका हकहित र व्यावसायिक सुरक्षाका लागि निरन्तर सक्रिय रहँदै आएका छन् । उनले नेपाल उद्योग वाणिज्य महासङ्घको समिति सदस्य भएर समेत काम गरिसकेका छन् ।
युवा जोश र जाँगर बोकेका महालक्ष्मी ह्युमपाइप उद्योगका प्रबन्ध निर्देशक सुशन महर्जनले सफल उद्यमीको मात्र पहिचान बनाएका छैनन् उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । हिजो मात्र उनले आजदेखि पुर्णचन्डिबाट शुरु हुने कृष्णपुजाका सरोकारवाला समिति एवम् स्वयम् सेवकहरूलाई आफ्नो कम्पनीको तर्फबाट टिसर्ट हस्तान्तरण गरेका थिए ।
साना उद्योगी व्यवसायी देखि ठूला उद्योगी व्यवसायीका समेत प्रिय रहेका महर्जन महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज, हिमालय क्राफ्ट, महालक्ष्मी मोटर्स, सुशन कन्स्ट्रक्सन र प्रिकास्ट कङ्क्रिट सोलुसन नेपाल लगायतका थुप्रै व्यावसायिक प्रतिष्ठानहरूमा आबद्ध छन् ।

बिजनेस पाटी