बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र २१
|
459 views

ललितपुर - भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको अवस्थाबारे पहिचान सुनिश्चित गर्न डिएनए नमूना सङ्कलन आजदेखि सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नमूना दिन आह्वान गर्दै जरुरी सूचना जारी गरिएको जानकारी दिनुभयो ।

सो सूचनाअनुसार सम्पर्कविहीन व्यक्तिका फस्ट डिग्री रिलेसन बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले डिएनए नमूना दिन सक्नेछन् । बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको पहिचान सुनिश्चित गर्न आफन्तको नमूना सङ्कलन गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दिया, गुलरियामा हुने नमूना सङ्कलन बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म हुने सूचनामा उल्लेख छ । नमूना सङ्कलनमा जिल्ला अस्पतालले पनि सहयोग गर्नेछ ।

प्रहरी उपरीक्षक पौडेलले दुई दिनसम्म डिएनए नमूना सङ्कलन हुने उल्लेख गर्दै प्रहरीले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई नमूना दिन आग्रह गरेको बताउनुभयो । नमूना दिन आउने आफन्तले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात र पासपोर्ट साइजका दुईप्रति फोटो अनिवार्य रूपमा ल्याउनुपर्ने सूचनामा उल्लेख छ ।

       पात्रो/राशिफल  रेडियो YouTube