
ललितपुर - पदमराज तिमल्सिना
विश्वमा नोबल पुरस्कारलाई निकै प्रतिष्ठाको रुपमा लिने गरिन्छ। आजको बसाईमा अर्थशास्त्र तर्फ नोबल पुरस्कार विजेताको चर्चा गरिनेछ। अर्थशास्त्रतर्फको नोबल पुरस्कार महान वैज्ञानिक अल्फ्रेड नोबलको सम्झनामा सन् १९६९ देखि दिन थालिएको हो। यो पुरस्कार हालसम्म ५७ पटक ९९ जनालाई प्रदान गरिसकिएको छ। पुरस्कार वितरणको श्रृङ्खाबद्द यात्रालाई विद्यार्थी, युवा तथा जानकारी राख्न चाहनेहरुसम्म पुर्याउनका लागि निम्नानुसार प्रस्तुत गरिएको छ।
क. सन् १९६९ देखि १९८० सम्म
सन् १९६९ मा अर्थमिति(Econometrics)को विकास गरेबापत Frisch & Tinbergen लाई अर्थशास्त्रतर्फको नोबल पुरस्कार प्रदान गरियो। यसभन्दा अगाडि अर्थशास्त्रलाई धेरैजसो सैद्दान्तिकरुपमा लिने गरिन्थ्यो। Samuelson (1970) लाई Modern Economic Theory का लागि प्रदान गरियो। Kuznets (1971) लाई GDP & Economic Growth को अवधारणा विकास गर्नमा योगदान दिएका कारण पुरस्कृत गरिएको हो। आज GDP को जानकारी बिना अर्थतन्त्र बुझ्न नै सकिन्न। Arrow & Hicks (1972) लाई General Economic Equilibrium Theory and Welfare Theory विकास गरेकाले पुरस्कार प्रदान गरिएको हो। उनीहरुको विचारले सामाजिक लागत-लाभको अवधारणा विकास गर्नमा योगदान गर्यो। Leontief (1973) ले Input-Output Analysis गरी कस्तो उद्योगमा लगानी गर्दा उत्पादन र रोगजारी बढ्छ भनी मापन गरी देखाएकाले पुरस्कार दिइएको थियो। Myrdal & Hayek (1974) हरुलाई बजार र सरकार दुवैलाई मिसाएर मिश्रित अर्थतन्त्रको विकास गर्नमा योगदान दिएका कारण पुरस्कृत गरियो। Kantorovich & Koopmans (1975) लाई Optimal Resource Allocation सिद्दान्त विकास गरे बापत पुरस्कृत गरियो। Milton Friedman (1976) ले Monetarism (मौद्रिकवाद) को विकास गरी वस्तु तथा सेवाको उत्पादन नबढी बजारमा पैसा मात्र धेरै भयो भने वस्तुको मूल्य बढ्छ र महँगी हुन्छ भन्ने विचार व्यक्त गरेका थिए। Ohlin & Meade (1977) हरुले International Trade क्षेत्रमा खोज गरी हरेक देशले आफूसँग प्रशस्त मात्रामा उपलब्ध स्रोत अधिकतम प्रयोग गरी निर्यात बढाउनुपर्ने विचार व्यक्त गरेका थिए। Herbert Simon (1978) ले Bounded Rationality सम्बन्धी निर्णय प्रक्रियाको सबैभन्दा प्रचलित विधीको विकास गरे। Schultz & Lewis (1979) लाई Development Economics को क्षेत्रमा पुर्याएको योगदानको लागि पुरस्कार प्रदान गरिएको थियो। Klein (1980) ले विशेषगरी कम्प्युटर र अर्थमितिको प्रयोग गरेर देशको अर्थतन्त्र आगामी वर्ष कता जान्छ (मन्दी आउँछ कि आर्थिक वृद्धि हुन्छ) भनी Econometric Forecasting गर्ने मोडेलहरूको विकास गरेका थिए।
ख.सन् १९८० देखि १९९० सम्म
Tobin (1981) लाई जोखिम कम हुने र प्रतिफल सुनिश्चित गर्ने Portfolio Diversification खोजका लागि पुरस्कृत गरिएको थियो। Stigler (1982) ले नियामक निकायहरू आफूले नियमन गर्ने उद्योग वा व्यवसायीको प्रभाव र दबाबमा परेमा Regulatory Capture हुने र बजार कम प्रभावकारी बन्छ भनी खोज गरेका थिए। Debreu (1983) General Equilibrium Theory लाई गणितीय रूपमा प्रमाणित गरी प्रतिस्पर्धात्मक बजारमा माग र आपूर्तिले स्वतः स्रोतहरुको प्रभावकारी बाँडफाँड हुने देखाए। Richard Stone (1984) ले National Accounts System विकास गरी आधुनिक आर्थिक मापन प्रणालीलाई व्यवस्थित बनाएका थिए। Modigliani (1985) ले Life-Cycle Hypothesis विकास गरी मानिसले युवाअवस्थाको कमाईबाट केही रकम बचत गरि बुढ्यौली वा मन्दीको समयमा उपभोग गर्दछन् भनी खोज गरे। Buchanan (1986) ले Public Choice Theory विकास गरी राजनीति र प्रशासनिक निर्णयहरुलाई अर्थशास्त्रको सिद्दान्तको माध्यमबाट विश्लेषण गर्नुपर्ने बताएका थिए। Solow (1987) ले Economic Growth Model विकास गरी श्रम र पूँजी मात्र बढाएर दीर्घकालीन आर्थिक विकास सम्भव नहुने भएकाले प्राविधिक प्रगति (Technical Progress), नवप्रवर्तन (Innovation) आवश्यक हुने बताएका थिए। Allais (1988) ले बजारमा उपलब्ध सीमित स्रोत (पुँजी, श्रम, समय आदि) लाई सबैभन्दा उत्पादनशील क्षेत्रमा प्रयोग गर्दा समाजले बढी लाभ पाउँछ भन्ने कुरा बताएका थिए। उनले मानिस मनोवैज्ञानिक पक्षबाट प्रभावित हुँदा जोखिमपूर्ण निर्णय तर्कसंगत वा गणितीय हिसाबले नगर्ने कुरा Alliax Paradox मार्फत देखाए। यही अवधारणा नै Behavioral Economics को आधार बन्न गयो। Haavelmo (1989) ले अर्थशास्त्रलाई तथ्य, तथ्याङ्क र सम्भाव्यता (Probability) मा आधारित आधुनिक Econometrics को रुपमा विकास गरे। Markowitz, Miller, Sharpe (1990) लाई Modern Portfolio Theory (MPT) र Capital Asset Pricing Model (CAPM) विकास गरी लगानी व्यवस्थापनलाई वैज्ञानिक आधार प्रदान गरे बापत पुरस्कृत गरियो।
ग.सन् १९९१ देखि २००० सम्म
Coase (1991) ले बजारमा हुने लेनदेनको लागत (समय, कानुनी प्रक्रिया, कागजी झन्झट, सूचना खोज्ने खर्च आदि) कम भए र सम्पत्तिको अधिकार स्पष्ट भए धेरै आर्थिक तथा सामाजिक समस्या बजारमै समाधान हुन सक्ने बताए। Becker (1992) ले Human Capital Theory प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सीप र तालिमलाई खर्च नभई भविष्यको लगानी भएको बताए। Fogel & North (1993) ले Institutional Economics मार्फत कुनै देशको समृद्धि बलियो संस्था, कानुन र सुशासनमा निर्भर हुने बताए। साथै विगतका संस्थागत निर्णयहरूको प्रभाव लामो समयसम्म रहने भएकाले Path Dependence को सम्बन्धमा समेत खोज गरे। Nash & others (1994) ले Game Theory मार्फत अर्थशास्त्रलाई रणनीतिक क्षेत्रको रुपमा विकास गरे। Lucas (1995) ले Rational Expectations को अवधारणा मार्फत नागरिकहरु सरकारले भोलि के गर्न सक्छ भनी अनुमान गरी आज नै आफ्नो व्यवहार परिवर्तन गर्दछन् भनी व्याख्या गरेका थिए। उनले Rational Expectations, Lucas Critique, Forward Guidance जस्ता अवधारणा विकास गरे। Lucas Critique भनेको सरकारले पुराना तथ्याङ्क हेरेर भविष्यको नीति बनाएर मात्र पुग्दैन, किनकि नयाँ नीति आएपछि मानिसको व्यवहार नै बदलिन्छ भन्ने विचार हो। Forward Guidance भनेको चाँहि आगामी दिनमा के गर्ने भन्ने मोटामोटो जानकारी दिने कार्य हो। Mirrlees & Vickrey (1996) ले Incentives अवधारणा मार्फत ईमान्दारलाई फाइदा र बेइमानलाई घाटा हुने प्रणाली/नियम बनाउन वकालत गरेका थिए। Merton & Scholes (1997)हरुलाई भविष्यमा देखापर्न सक्ने उतारचढावबाट व्यवसायमा पर्नसक्ने वित्तीय जोखिमको भार कम गर्नका लागि हेजिङ लगायतका विधीहरुको खोज गरे बापत पुरस्कृत गरिएको हो। Amartya Sen (1998) ले Human Development को अवधारणा विकास गरी स्वतन्त्रता, क्षमता र अवसरमा वृद्दिलाई विकासको रुपमा व्याख्या गरे। Mundell (1999) ले Exchange rate theory को विकास गर्दै ‘Impossible Trinity’ सिद्धान्त मार्फत कुनै पनि देशले स्थिर विनिमय दर, स्वतन्त्र मौद्रिक नीति र पूँजीको पूर्ण स्वतन्त्र आवागमनको लक्ष्य एकैपटक हासिल गर्न नसक्ने बताए भने ‘Optimal Currency Area’ मार्फत समान आर्थिक अवस्था भएका देशहरूले मात्र साझा मुद्रा सफलतापूर्वक प्रयोग गर्न सक्ने कुरा बताए। Heckman & McFadden (2000) ले अर्थशास्त्रका आधारभूत तत्वलाई Choice को रुपमा व्याख्या गरी Selection Bias बाट फरक नतिजा आउने र उक्त नतिजा वास्तविक नहुने बताए। त्यस्तै अर्का विद्वान् McFadden ले मानिसले किन कुनै सामान, सेवा वा बाटो रोज्छ? भन्ने कुरा बुझ्ने गणीतीय तरिका बताए।
घ.सन् २००० देखि सन् २०१० सम्म
Stiglitz, Akerlof, Spence (2001) हरुलाई Information Asymmetry सम्बन्धमा खोज गरी बजारमा एक पक्षसँग बढी र अर्को पक्षसँग कम सूचना हुनेहुँदा बजार प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने कुरा बताए। Kahneman & Smith (2002) लाई Behavioural Economics को विकासमा योगदान पुर्याए। Kahneman ले मानिसहरू सधैं पूर्ण रूपमा तार्किक (Rational) नहुने, भावना, डर, लोभ, विश्वास र तत्कालीन परिस्थितिबाट पनि प्रभावित हुने बताए। Smith ले प्रयोगशालामा मानिसहरूको वास्तविक आर्थिक व्यवहार अध्ययन गर्ने वैज्ञानिक विधि विकास गरे। Engle & Granger (2003) ले Time Series Analysis विधीको विकास गरी प्रभावकारी नीति बनाउन सहयोग पुर्याएका थिए। Kydland & Prescott (2004) Policy Consistency सम्बन्धी खोज गरी सरकारले छोटो अवधिको फाइदाका लागि नीति परिवर्तन गर्दा सरकारको विश्वसनीयता घट्ने र अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखाए। Schelling & Aumann (2005) ले Game Theory सम्बन्धी खोज गरी व्यक्ति वा देशहरूले कसरी रणनीतिक निर्णय गर्छन् भन्ने वैज्ञानिक रूपमा व्याख्या गरे। Phelps (2006) ले Unemployment Dynamics मार्फत दीर्घकालमा अर्थतन्त्रमा Natural Rate of Unemployment रहने र केवल मुद्रास्फीति बढाएर बेरोजगारी घटाउन नसकिने देखाए। Leonid Hurwicz, Eric S. Maskin र Roger B. Myerson(2007) ले Mechanism Design Theory विकास गरी मानिसहरूबाट समाज वा संस्थाले चाहेको असल परिणाम प्राप्त गर्न नियम, प्रोत्साहन र निर्णय–प्रक्रिया कसरी डिजाइन गर्ने भन्ने खोज गरे। Krugman (2008) लाई New Trade Theory र Economic Geography सम्बन्धी खोज गरी अन्तर्राष्ट्रिय व्यापार केवल प्राकृतिक स्रोत वा सस्तो श्रमका कारण मात्र नभई उपभोक्ताको विविध वस्तुप्रतिको चाहना र ठूलो परिमाणमा उत्पादन गर्दा लागत घट्ने (Economies of Scale) कारणले पनि हुने देखाए। Ostrom & Williamson (2009) ले Governance of Commons खोज गरे। Ostrom ले वन, पानी, चरनजस्ता Common Pool Resources लाई स्थानीय समुदायले स्पष्ट नियम, सहभागिता र जवाफदेहिताका साथ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्ने प्रमाण प्रस्तुत गरिन्। उनले नेपालको सामुदायिक वन व्यवस्थापन सम्बन्धी समेत अध्ययन गरेकी थिइन्। Williamson ले लेनदेन लागत (Transaction Costs) घटाउने प्रभावकारी व्यवस्थापन प्रणालीबारे खोज गरेका थिए।
ङ.सन् २०११ देखि २०२० सम्मः
Diamond, Mortensen, Pissarides (2010) ले Search Theory विकास गरी रोजगारीका अवसर हुँदाहुँदै पनि धेरै मानिस बेरोजगार रहनुको मुख्य कारण काम खोज्न लाग्ने समय, सही सूचना नहुनु र रोजगारदाता तथा काम खोज्ने व्यक्तिबीच उचित मिलान (Matching) हुन नसक्नु हो भन्ने बताए। Sargent & Sims (2011) ले Macroeconomic Causality बुझ्ने वैज्ञानिक विधिको विकास गरी कुनै आर्थिक नीतिले वास्तवमै के प्रभाव पार्छ भन्ने छुट्याउन तथ्यमा आधारित विधि विकास गरे। उदाहरणका लागि, ब्याजदर बढाउँदा मुद्रास्फीति, रोजगारी वा आर्थिक वृद्धि (GDP) मा कस्तो असर पर्छ ? Roth & Shapley (2012) ले Market Design सम्बन्धी खोज गरी मूल्य वा पैसाले निर्णय नहुने क्षेत्रमा माग र आपूर्तिलाई सबैभन्दा उपयुक्त तरिकाले कसरी मिलाउने भन्ने Matching Algorithm विकास गरे। Fama, Hansen, Shiller (2013) हरुले Financial Markets को क्षेत्रमा योगदान दिए। Fama ले छोटो अवधिमा सेयरको मूल्य सही रूपमा अनुमान गर्न निकै कठिन हुने (Efficient Market Hypothesis) देखाए भने, Shiller ले लामो अवधिमा सम्पत्तिको मूल्य अत्यधिक बढेर Bubble बन्न सक्ने र त्यसको जोखिम पहिचान गर्न सकिने देखाए र Hansen ले यस्ता सिद्धान्तहरूको परीक्षण गर्ने विधि विकास गरे। Tirole (2014) ले Oligopoly बजारलाई कसरी प्रभावकारी रूपमा नियमन गर्ने भन्ने सिद्धान्त विकास गरे। Deaton (2015) ले गरिबी सही रूपमा मापन गर्न परिवारले के–कति उपभोग गर्छ, शिक्षा, स्वास्थ्य, खाद्यान्न र अन्य आवश्यकतामा कति खर्च गर्छ भन्ने विवरण अध्ययन गर्नुपर्ने निष्कर्ष निकाले। Hart & Holmström (2016) ले वास्तविक जीवनमा सबै सम्भावित परिस्थिति समेटेर पूर्ण करार (Complete Contract) गर्न नसकिने भएकाले अपूर्ण करार (Incomplete Contracts) लाई कसरी प्रभावकारी बनाउने भन्ने व्याख्या गरे। Thaler (2017) ले Nudge Theory मार्फत मानिसहरूलाई कडा दण्ड वा जबरजस्ती गरेर भन्दा साना र सकारात्मक परिवर्तनद्वारा राम्रो निर्णय लिन प्रेरित गर्न सकिन्छ भन्ने देखाए। Nordhaus & Romer (2018) मध्ये Nordhaus ले जलवायु परिवर्तनले अर्थतन्त्रमा पार्ने असरलाई विश्लेषण गर्ने मोडल विकास गर्दै Carbon Tax जस्ता नीतिको आवश्यकता देखाए भने Romer ले Endogenous Growth Theory मार्फत कुनै देशको आर्थिक वृद्धि ज्ञान, अनुसन्धान, प्रविधि र नवप्रवर्तन (Innovation) मा गरिने लगानीबाट सम्भव हुने बताए। Banerjee, Duflo, Kremer (2019) हरुलाई गरिबी निवारणका कार्यक्रमको प्रभावकारिता मापन गर्ने Randomized Controlled Trials (RCT) विधिको विकास र प्रयोगका लागि पुरस्कृत गरियो। Milgrom & Wilson (2020) ले Auction Theory विकास गरी जटिल सम्पत्ति, जस्तै रेडियो फ्रिक्वेन्सी, खानी, प्राकृतिक स्रोत वा ठूला सरकारी इजाजतपत्रको लिलामी कसरी निष्पक्ष, प्रतिस्पर्धात्मक र प्रभावकारी बनाउने भन्ने विधि विकास गरे।
ङ.सन् २०२१ देखि हालसम्म
Card, Angrist, Imbens (2021) ले कारण–असर विश्लेषण गरी वास्तविक जीवनका घटनालाई Natural Experiments का रूपमा प्रयोग गरेर कुनै आर्थिक नीतिले वास्तवमै कस्तो प्रभाव पार्छ भन्ने प्रमाणमा आधारित विधि विकास गरे। Bernanke, Diamond, & Dybvig (2022) ले Banking Crisis सम्बन्धी खोज गरी हल्लाका कारण बचतकर्ताले एकैचोटि सबैले पैसा झिक्न खोज्दा Bank Run भएर बैंक संकट आउन सक्ने देखाए। Claudia Goldin (2023) का अनुसार महिलाको शिक्षास्तर बढे पनि Motherhood Penalty (सन्तान जन्मपछि करियरमा पर्ने असर), घरपरिवारको जिम्मेवारी र Flexible Working Hours को अभावका कारण Gender Wage Gap अझै कायम रहने निष्कर्ष प्रस्तुत गरिन्। Acemoglu, Johnson, & Robinson (2024) हरुले कुनै पनि देश धनी वा गरिब हुनुको मुख्य कारण भूगोल, प्राकृतिक स्रोत वा संस्कृति मात्र नभई त्यस देशका संस्थाहरू (Institutions) भएकाले संस्थाहरु Extractive (दोहनकारी) नभएर Inclusive Institutions हुनपर्ने कुराको वकालत गरे। Mokyr, Aghion, & Howitt (2025) हरुले Innovation & Creative Destruction सम्बन्धमा व्याख्या गरेकाले पुरस्कृत गरियो ।
समग्रमा हेर्दा नागरिकको दैनिक जिवनलाई प्रभाव पार्ने विषयवस्तुदेखि वैश्विक समस्याको समाधानको लागिसम्म अर्थशास्त्रको नोबल पुरस्कार दिने गरेको पाइन्छ। नेपालमा पनि अर्थशास्त्रको क्षेत्रमा खोज, अनुसन्धान गर्ने विश्व प्रसिद्द वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक, प्रशासक, अध्येता तथा प्रतिभाहरु रहेका छन् तर नोबल पुरस्कार नै भने प्राप्त गरिसकेका छैनन्। नेपालीले नोबल पुरस्कार जितेको समाचार छिट्टै सुन्न पाइयोस्। धन्यवाद्।

बिजनेस पाटी