समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र २८
|
306 views

ललितपुर - देशको राजधानी काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मालवाहक सवारीसाधन (ट्रक र कन्टेनर) को चाप यतिबेला कान्ति लोकपथमा छ । हेटौँडाबाट मालवाहक र यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने र काठमाडौंबाट खाली सवारीसाधन कान्ति लोकपथ हुँदै हेटौँडा पुग्ने व्यवस्था गरिएको छ ।

लोकपथअन्तर्गत छपेलीमा होटल व्यवसाय गर्ने प्रमिला दाहाल भन्नुहुन्छ, ‘अहिले यो बाटोमा सबै खाली गाडी गुड्छन् । ठूलाठूला गाडी त गुडेका छन् तर व्यापार छैन । एकछिन गाडी रोक्दा जाम हुन्छ । एउटा गाडीमा चालक मात्र हुन्छ । के व्यापार हुनु !’ यात्रुसहितका साना सवारीसाधन कान्ति लोकपथ हुँदै गुड्दा दैनिक २०० जनालाई खाना खुवाउने उहाँ अहिले पाँच-दश जनाले मात्र खाना खाने गरेको सुनाउनुहुन्छ ।

ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बुद्धरत्न महर्जन सरकारले केही दिनअघि कान्ति लोकपथलाई प्राथमिकता नदिएको भन्दै आपत्ति जनाउनुभएको थियो । उहाँले सङ्कट पर्दा मात्र नभएर राज्यले यस्ता राजमार्गलाई सक्षम र उपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो । प्रतिनिधि सभाको बैठकको शून्य समयमा धारणा राख्दै सांसद महर्जनले भन्नुभयो, ‘राष्ट्रिय राजमार्गका रुपमा रहेको यस सडकलाई राज्यले सामान्य अवस्थामा पर्याप्त प्राथमिकता दिएको देखिँदैन तर जब विपत्ति आउँछ र मुख्य सडक अवरुद्ध हुन्छ तब त्यही सडकलाई वैकल्पिक सडकका रुपमा खोल्नुपर्ने अवस्था आउँछ । सङ्कट पर्दा मात्र सम्झिने होइन, सङ्कट आउनु अगाडि नै यस्ता मार्गलाई सक्षम र सुरक्षित बनाउनु राज्यको दायित्व हो ।’

सत्तरी वर्षे इतिहास बोकेको राजमार्ग

ललितपुर र मकवानपुरलाई जोड्ने ऐतिहासिक कान्ति लोकपथ काठमाडौँ उपत्यका जोडिने सात दशक पुरानो सडक मार्ग हो । विसं २०१३ देखि निर्माण थालिएको यो सडक २०१४ माघ ९ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गर्नुभएको थियो । ट्र्याक खुलेपछि २०१६ सालमा तत्कालीन राजा महेन्द्र आफैँ यो मार्ग भएर गाडी चलाउँदै हेटौँडा पुग्नुभएको थियो । सोही वर्ष आएको पहिरोपछि यो सडक खण्ड करिब ४० वर्षसम्म पूर्ण रूपमा ठप्प बन्यो ।

विसं २०५५ मा कोरिया सरकारले अनुदानमा कान्ति लोकपथको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने प्रस्ताव अघि बढाएपछि २०५६ देखि डिपिआर डिजाइनको काम सुरु भएपछि यो सडकलाई सङ्कटको समयमा सम्झिने गरिएको छ । काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक राजमार्गका रूपमा २०६६ सालदेखि ‘कान्ति लोकपथ आयोजना’मार्फत पुनःनिर्माण विस्तार तथा स्तरोन्नति भएपछि यो सडक सञ्चालनमा आएको हो । सञ्चालनपछि विभिन्न ठाउँमा पहिरोले अवरोध गर्दा विभिन्न आर्थिक वर्षमा सडक विस्तारका लागि निरन्तर बजेट विनियोजन भएको छ ।

कान्ति लोकपथको ५१ किलोमिटर मकवानपुर र ३८ किलोमिटर भाग ललितपुर जिल्लामा पर्छ । ८९ किलोमिटर सडकको अधिकांश भाग कालोपत्र भए पनि पहिरो र पहाड कटानको काम भइरहेका विभिन्न ठाउँ गरेर करिब चार किलोमिटर सडक कच्ची छ । २०८१ सालको बाढीले बागमती खोलाको पुल बगाएपछि बेलिब्रिज जडान गरिएको छ । त्यसको भारवहन क्षमता र सुरक्षाको दृष्टिगत गर्दै मालवाहक खाली गाडीलाई मात्र यो सडकमा सञ्चालनका लागि अनुमति दिइएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube