उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र २८
|
357 views

ललितपुर - उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना मुस्लिम धार्मिक गुरुलाई अपहरण गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय उक्त राज्य फिरौतीका लागि हुने अपहरणबाट प्रभावित हुँदै आएको छ ।

प्रहरीका अनुसार शनिबार अत्याधुनिक हतियार बोकेका सशस्त्र समूहले डाक्को–दम्री सडकमा घात लगाएर धार्मिक गुरुहरू सवार गाडी रोकेका थिए । उहाँहरू तलाता मफारा जाँदै गर्दा अपहरणमा परेका हुन् ।

    नाइजेरियाली सञ्चारमाध्यमका अनुसार उहाँहरू सिनेटर अब्दुलअजिज अबुबकर यारीको धार्मिक कार्यक्रममा सहभागी हुन जाँदै थिए । यारी जाम्फारा राज्यका पूर्व गभर्नरसमेत हुन् ।

      अपहरणपछि सुरक्षा टोलीले उनीहरूको खोजी तथा उद्धारका लागि व्यापक अभियान सुरु गरेको प्रहरीले जनाएको छ । आसपासका जंगल र झाडीमा खोजी भइरहेको छ ।

      नाइजेरियामा पछिल्लो समय अपहरण सशस्त्र समूहका लागि आम्दानीको प्रमुख स्रोत बनेको छ । जिहादी समूहसँगै अपराधी समूहहरूले पनि मानिसलाई अपहरण गरी फिरौती माग्ने गरेका छन् ।

      एसबीएम इन्टेलिजेन्सको अगस्टमा प्रकाशित प्रतिवेदनअनुसार, पछिल्लो एक वर्षमा नाइजेरियामा अपहरणकारीलाई करिब ६० लाख अमेरिकी डलर फिरौतीका रूपमा बुझाइएको छ । कमजोर अर्थतन्त्रसँगै बढ्दो असुरक्षा नाइजेरियाको आगामी निर्वाचन अभियानको प्रमुख मुद्दा बनेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube