
ललितपुर - बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै गर्भवती हुने र आमा बन्ने अवस्था देखिएको छ । जिल्लामा गत आर्थिक वर्ष सुत्केरी भएकामध्ये झन्डै पाँच जनामा एक जना २० वर्षमुनिका छन् भने एक किशोरीले १४ वर्षमै आमा बन्नुपरेको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा सुत्केरी भएकामध्ये करिब २० प्रतिशत २० वर्षमुनिका छन् । कुल ५८५ जना सुत्केरी भएकामा ११६ जना अथवा १९.८२ प्रतिशत २० वर्षमुनिका रहेका कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो ।
‘छ जना घरमै सुत्केरी भएका हुन्, गत वर्ष सुरक्षित गर्भपतन सेवा लिएका ७९० जनामध्ये ५.७५ प्रतिशत अथवा ४३ जना २० वर्षमुनिका छन् ।’ आव २०८१/८२ मा सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका एक हजार ३८४ जनामध्ये १३.७२ प्रतिशत अथवा १९० जना २० वर्षमुनिका थिए । २०८०/८१ मा २० वर्षमुनिका १६१ जना सुत्केरी हुँदा सुरक्षित गर्भपतन सेवा लिने सो उमेर समूहका किशोरी तथा युवतीको सङ्ख्या २९ जना थियो ।
विसं २०७८ को जनगणनाअनुसार जिल्लामा प्रजननयोग्य उमेर समूहका महिलाको सङ्ख्या २१ हजार १८३ जना छ । जिल्लाका ४७ प्रतिशत दम्पतीले मात्र परिवार योजनाका साधनको प्रयोग गर्ने जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।
म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले समाजमा शैली फेरिएर बालविवाह कायमै रहेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टि गरेको बताउनुभयो । बालविवाह, असुरक्षित र अनुच्छिुक गर्भधारणको प्रमुख कारण मेलाजात्रा भएको उहाँको भनाइ छ ।
“सामाजिक सञ्जाल”, उहाँले भन्नुभयो, “गरिबी, अभिभावकको निगरानी नहुने, असल अभिभावकत्व र संरक्षण नपाउने, भावनात्मक परिवन्धमा परेर किशोरीहरु बालविवाह गर्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका देखिन्छ ।”
प्रदेश अस्पताल बेनीका प्रमुख चिकित्सक डा हेमन्त बास्तोलाले गत आवमा सुत्केरी भएकामध्ये एक जना १४ वर्षमै आमा बनेको बताउनुभयो । पन्ध्र वर्षका तीन, १६ वर्षका चार, १७ वर्षका १० र १८ वर्षका २२ जनाले गत आवमा प्रदेश अस्पताल बेनीबाट प्रसूति सेवा लिएका छन् ।
“बालविवाह, विद्यालय छाड्ने अवस्था, गरिबी, सामाजिक दबाब, लैङ्गिक असमानता तथा किशोरकिशोरीमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको कमीजस्ता समस्या एकसाथ जोडिएको छ”, उहाँले भन्नुभयो, “शरीर पूर्ण रूपमा परिपक्व नभइसकेका कारण गर्भावस्था र प्रसूतिको समयमा जटिलता निम्तिन सक्ने जोखिम हुन्छ ।”
प्रदेश अस्पताल बेनीको अभिलेखअनुसार पछिल्लो १४ महिनामा सुत्केरी हुन आएका २० वर्षमुनिका किशोरीमध्ये ५२ जना अर्थात् ६८.४ प्रतिशत दलित समुदायका छन् । जनजाति समुदायका १७ र ब्राह्मण÷क्षेत्री समुदायका सात जना छन् ।
विद्यालय तहको पनि पढाइ पूरा नहँुदै किशोरी, युवती आमा र गर्भवती हुँदा उच्च शिक्षा, रोजगारीको अवसरबाट वञ्चित हुने र सामाजिक रुपमा पछि गर्ने गरेका उपप्रध्यापक रेग्मीले बताउनुभयो ।
बीस वर्षभन्दा कम उमेरमा विवाह दर्ता नहुने, विवाह दर्ता नभइकन जन्मदर्ता नहुने भएकाले बालबालिकालाई विद्यालय भर्ना गर्न, राज्यले दिने सेवा सुविधा उपभोग गर्न र अन्य सरकारी कागजात बनाउन समस्या हुन थालेको छ ।
उमेर नपुगी विवाह गरेका दम्पतीले जिम्मेवारी पूरा गर्न नसक्ने र पारिवारिक विचलन आउने गरेको छ । बालविवाह रोकथामका लागि कानुनी सचेतनामात्र पर्याप्त नभई विद्यालयमा किशोरीको निरन्तरता, परिवारको आर्थिक अवस्था सुधार, किशोरकिशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा र जोखिममा रहेका बालबालिकाको पहिचान तथा संरक्षणलाई प्रभावकारी बनाउनुपर्ने चिकित्सक बास्तोलाको भनाइ छ ।

बिजनेस पाटी












