राष्ट्रियसभाः ब्रिक्स देशको सदस्यता लिनुपर्नेमा सांसदको जोड

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ३१
|
153 views

ललितपुर - राष्ट्रियसभाका सदस्यहरूले ब्रिक्स सम्मेलनमा नेपालले पनि अर्को पटकदेखि भाग लिनेगरी ब्रिक्स सदस्य देशका रूपमा सदस्यता लिनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य उर्मिला अर्यालले ब्रिक्स सम्मेलनमा नेपालले सदस्यता लिनुपर्ने बताउनुभयो । सदस्य गोमादेवी तिमल्सिनाले ब्रिक्स सम्मेलनमा नेपाललाई किन निमन्त्रण आएन भनी प्रश्न गर्नुभयो ।

    सदस्य जयन्तीदेवी राईले मधेस प्रदेशमा बविता पासवानले सडकमै बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्ने गरी वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । रसुवा बाढी पीडितलाई मनोपरामर्श दिने व्यवस्था गर्न पनि उहाँले माग गर्नुभएको थियो ।

      सदस्य नरबहादुर विष्टले भोटेकोशी घटनामा परी अहिलेसम्म भएको क्षतिको यथार्थ विवरण सदनमा जानकारी दिन माग गर्नुभयो ।

      सदस्य नारायणदत्त मिश्रले धानको मूल्य निर्धारणका लागि पालिकास्तरमा खरिद मूल्य निर्धारण गर्ने शाखाको गठन गर्न माग गर्नुभयो । सदस्य मोहम्मद खालिदले सबै उपभोग्य वस्तुमा मूल्य बढ्नु चिन्ताको विषय भएकाले यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

      सदस्य युवराज शर्माले मूल्य वृद्धि भएर पनि ग्याँस पाउन नसकिने अवस्था आएको र सबै उपभोग्य वस्तुको मूल्य वृद्धि भएकाले नियन्त्रण गर्न माग गर्नुभयो

      सदस्य राजेन्द्रलक्ष्मी गैह्रेले महिलाले सडकमै बच्चा जन्माउने अवस्था आउँदा पनि सरकार गुपचुप बसेकामा आपत्ति जनाउनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube