
ललितपुर -
गीतकार सङ्घ नेपालको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘सम्मान तथा पुरस्कार समारोह एवं साङ्गीतिक कार्यक्रम’ सम्पन्न भएको छ ।
यस वर्ष प्रतिष्ठित गीतकार निर शाह ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान’द्वारा सम्मानित भए । विगत पाँच दशक देखी अविचलित योगदान पू¥याउँदै आएका नेपाली कला क्षेत्रकै विशिष्ट व्यक्तित्व गीतकार शाहलाई नगद रु. १ लाख ५१ हजारसहित सम्मान पत्र, माला र दोसल्ला ओढाएर सम्मान गरियो । शाहका बादल बनाई देऊ आकार बदल्न सकूँ, गहिराइमा डुब्दै नडुब , पर्खी बसे आउला भनी , आँखैमा कसैको तस्बिर, प्यारी वसन्ती, पसिनाको जलैले लगायत गीतहरू प्रसिद्ध छन् ।
त्यस्तै, यस वर्षको ‘डायस्पोरा गीतकार सम्मान’ गीतकार निलम आङ्बुहाङ राई लाई नगद रु. १५,००० सहित सम्मान गरियो । विदेशमा बसेर पनि नेपाली गीति लेखनमा सक्रिय गीतकार राईद्वारा रचित पुरानो हुँदैन माया, पानी मिठो मेरो हजुर इलाम बजारको लगायत गीतहरू कालजयी छन् ।
समारोहमा सङ्घले दिने ‘विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान’ बाट यस वर्ष लोहोरङराई भाषाका स्रष्टा नइन्द्र लोहोरुङ राईलाई नगद रु. २५,२५२ सहित सम्मानित गरियो । समारोहमा, ‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान – २०८२’ बाट दुई जना गीतकारहरू सम्मानित भए । नेपाली गीति लेखनमा नयाँ सम्भावना सहित निरन्तर साधना गर्दै आएका गीतकार द्वय सुशीला पौडेल र अरुण तिवारीलाई जनही नगद रु. १५,००० सहित पुरस्कृत गरियो ।
सङ्घले यस वर्षबाट सुरु गरेको ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’बाट हिमालय टाइम्सका उपसम्पादक वरिष्ठ पत्रकार कृष्ण भुसाल नगद रु ५,५५५ सहित सम्मानित भए । सम्मानितहरूको तर्फबाट गीतकार नीर शाहले मन्तव्य राखेका थिए ।
कार्यक्रममा यस वर्ष ‘जगतमर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार २०८२’ कल्पना खरेलको कृति ‘नन्दिनी’ र ज्ञानेन्द्र गदालको कृति ‘भोलीको आश उज्यालो प्रकाश’लाई नगद रु. ५७,००० सहित प्रदान गरियो भने भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कारबाट ५७,००० नगद सहित गीतकार द्वय डम्बर याक्सो ‘म तिम्रो नजरमा’ र प्रवल विष्ट ‘भुल्न सकिनँ’ गीतबाट पुरस्कृत भए ।
कार्यक्रममा सम्मान र पुरस्कार कार्यक्रमसँगै दश अग्रज गीतकारहरूको सम्मानमा इतिहास बोकेका दश वटै कालजयी गीतहरू चर्चित गायक–गायिकाहरूले मञ्चमा प्रत्यक्ष प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सम्मानित व्यक्तित्व नीर शाहको गीत ‘गहिराइमा डुब्दै नडुब’ लाई गायक जगदीश समालले ,गीतकार डा. भोला रिजालको ‘मेरो पौवा पाटीलाई’ गायक सञ्जय तुम्रोकले ,गत वर्ष सङ्घबाट सम्मानित भएका र दिवङ्गत भएका अमर स्रष्टा गणेश रसिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको चर्चित पूर्वी लोक आधुनिक भाका ‘धेरै सम्झे धेरै हुन्छ’ लाई गायक अशोक मुकारुङले स्वर दिएका थिए । यसै गरी गीतकार एसपी कोइरालाद्वारा रचित चलचित्र ग्रहणको चर्चित गीत ‘धड्कनभित्र लुकाइदेऊ न’ लाई रूपक चौधरी र बिनुषा राईको युगल , अमर बान्तुको रचना ‘आमा’ लाई गायिका निशा देसारले ,कवि एवं गीतकार वसन्त चौधरीको आधुनिक गीत ‘मेरो प्यारो मान्छे’ गायिका माण्डवी त्रिपाठीले ,सङ्घका संस्थापक अध्यक्ष गीतकार डा. कृष्णहरि बरालको ‘मर्ने कसैलाई रहर हुँदैन’ बाल गायक प्रेम परियारले, सङ्घका पुर्वअध्यक्ष गीतकार योगेन्द्रमणी दाहालको ‘बादलहरू हो’ सञ्जय तुम्रोकले , सङ्घका पुर्वअध्यक्ष गीतकार चूडामणि देवकोटाको ‘तिम्रो पनि रगत’ मा सुमित खड्काले , सङ्घकै पूर्व अध्यक्ष शुभ मुकारुङको ‘तिमीले मलाई छाडि गए’लाई गायक गणेश पराजुलीले प्रस्तुति दिएका थिए ।
वरिष्ठ सङ्गीतकार अशोक कुमार राईको सङ्गीत संयोजनमा १५ जना कुशल वाद्य वादकहरूको टोलीले गीतहरूमा प्रत्यक्ष सङ्गीत भरेका थिए । जसमा, किबोर्डमा शुवानी मोक्तान, भ्वाइलिनमा मोहनकृष्ण कार्की ढली, मनोहर सुनाम, किशोर कार्की ढली, रविन कार्की ढली, ढोलकमा कुमार महाराज, भरत बुढाथोकी, बाँसुरीमा गोपाल देव, मादलमा पोषण घर्ती, अनिल थापा, गिटारमा देव राई (बेस), प्रभात लामा (लिड), खगेन्द्र गुरुङ (रिदम) र प्याड ड्रममा अङ्कित खड्का रहेका थिए ।
समारोहमा यस वर्ष गीतकार सङ्घ नेपालको आजीवन सदस्यता प्राप्त गीतकारहरूलाई प्रमाण–पत्रसमेत वितरण गरिएको थियो भने कार्यक्रमलाई विभिन्न तरिकाले सहयोग पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई मायाको चिनो प्रदान गरियो ।
नेपाल पुलिस क्लबमा आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठित गीतकार किरण खरेलको प्रमुख आतिथ्य रहेको थियो भने गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाले सभापतीत्व गरेका थिए ।

बिजनेस पाटी
