२० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १४
|
102 views

ललितपुर - बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले असोज १४ गते २० अर्ब रुपैयाँको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो । यो उपकरण ३० दिनका लागि जारी हुनेछ ।

    बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले असोज १४ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत ब्याजदर र निक्षेप गर्न चाहेको रकम प्रस्ताव गर्नुपर्नेछ । प्रस्तावित ब्याजदरका आधारमा राष्ट्र बैंकले निक्षेप संकलन गर्नेछ ।

    यसको साँवा तथा ब्याज कात्तिक १३ गते सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई फिर्ता गरिनेछ ।

      बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोड रुपैयाँले भाग जाने रकममा प्रस्ताव गर्न सकिनेछ । अधिकतम भने २० अर्ब रुपैयाँसम्म प्रस्ताव गर्न पाइनेछ ।

      राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकता दिँदै २० अर्ब रुपैयाँसम्म रकम बाँडफाँट गर्नेछ । समान ब्याजदरमा गरिएको प्रस्तावको रकम २० अर्बभन्दा बढी भएमा समानुपातिक आधारमा रकम बाँडफाँट गरिनेछ ।

      यस बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

      संकलन गरिएको रकम बैंक तथा वित्तीय संस्थाले आफ्नो लगानी पोर्टफोलियोमा समावेश गर्न पाउने छैनन् । तर उक्त रकमलाई वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा गणना गर्न सकिनेछ । अनिवार्य नगद मौज्दात (सीआरआर) मा भने गणना गर्न पाइने छैन ।

      राष्ट्र बैंकका अनुसार तोकिएको भुक्तानी मितिभन्दा अगाडि यो निक्षेप फिर्ता वा भुक्तानी गरिने छैन ।

       पात्रो/राशिफल  रेडियो YouTube